काठमाडौं । चीनले क्रिप्टोकरेन्सी प्रतिबन्ध लगाएपछि बिटक्वाइनको मूल्य खस्कँदै गएको छ । सोमबार बिटक्वाइनको मूल्यमा गएको दुई हप्तामा सबैभन्दा धेरै गिरावट आएको छ । चीनले बिटक्वाइन माइनिङ (उत्खनन्) मा कडाई गरेसँगै लगानीकर्तामाझ क्रिप्टोकरेन्सीको भविष्यबारे अन्यौल हुँदा बिटक्वाइनको मूल्यमा थप गिरावट आएको हो ।
मूल्यमा गिरावट आएसँगै सोमबार बिटक्वाइनको मूल्य १०.७ प्रतिशतले घटेर ३१ हजार ३३३ अमेरिकी डलर पुगेको छ । बितेको ६ दिनमा बिटक्वाइनको मूल्य करिब २० प्रतिशतले घटेको छ । अप्रिल महिनासम्म बिटक्वाइनको मूल्य करिब ६५ हजार डलर पुगेको थियो ।
पछिल्लो समयमा चीनले क्रिप्टोकरेन्सी प्रयोगमा कडाई गरिरहेको छ । गत शुक्रबारमात्र चीनको सिचुवान प्रदेशमा बिटक्वाइन माइनिङ प्रोजेक्टहरुमा प्रतिबन्ध लगाएको थियो । गत महिना चीनको प्रादेशिक मन्त्रिपरिषदले वित्तीय जोखिमको कारण देखाउँदै बिटक्वाइन माइनिङमा रोक लगाएको थियो ।





