अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ । यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ ।
जारी पुँजी भन्नाले कम्पनीले सेयरधनीहरु बाट संकलन गर्ने लक्ष्य राखेको पुँजीलाई बुझिन्छ । सेयरधनीहरुले सोही अनुरुप पुँजी जम्मा गर्ने प्रतिवद्धता जाहेर गरेका हुन्छन् ।
चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजी मध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ । उदाहरणको लागि एक सय रुपैयाँ प्रति सेयरका दरले जारी गरिएको सेयरमा सेयरधनीहरुबाट प्रतिसेययर ५० रुपैयाँ मात्र तिरेको भएमा ५० रुपैयाँ प्रति सेयर चुक्ता मूल्य हुन्छ ।
कम्पनी खारेज
अदालतले कम्पनी खारेजीमा लैजाने फैसला गरेको अवस्थामा लिक्युडेटर पनि तोकिदिएको हुन्छ । लिक्युडेटरले कम्पनीको सम्पत्तिको मूल्यांकन तथा बिक्री गर्न सहयोग गर्दछ ।
यसरी बिक्री गरी प्राप्त रकमबाट सर्वप्रथम कम्पनी खारेज गर्दा लाग्ने खर्च, कर्मचारीहरुको तलब तथा सुविधाहरु, सरकारी कर तथा दस्तुरहरु र सुरक्षित ऋण जस्ता दायित्वहरु भुक्तानी गरिन्छ ।








