काठमाडौं मैतिदेवी बस्ने बाराका सुनिल यादवले केही दिन अघि डलर कार्डका लागि अनलाइनबाट एनआइसी एशिया बैंकमा आवेदन दिए ।
‘कार्ड बनिसक्यो लिनआउनुस्’ अर्को दिन फोन आयो । उनी बिहीबार एनआईसी एशिया बैंकको बत्तिसपुतली शाखामा डलर कार्ड लिन गए ।
डलर कार्ड लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ । बैंकका कर्मचारीले सुनिलसँग प्यान नम्बर मागे । सुनिल पहिलेदेखि नागरिक एप चलाउँथे । सुनिलले नागरिक एपमा इन्टिग्रेड भएको प्यान नम्बर देखाए ।
‘यसले त हुदैन सर, ओरिजिनल ल्याउनुस्,’ बैंक कर्मचारीले सुनिललाई भने ।
‘यो त सरकारले ल्याएको एप हो, किन मान्यता हुदैन र,’ उनले कर्मचारीलाई भने । तर, उनको कुरा सुनुवाई भएन।
उनको प्यान कार्ड आफ्नो घर वीरगञ्जमा थियो । बनिसकेको कार्ड लिन नपाएपछि वीरगञ्जबाट कार्ड मगाउनु पर्यो । नागरिक एपबाट प्यान नम्बर देखाउँदा बैंकले डलर कार्ड नदिएपछि आफ्नो वीरगञ्जमा रहेको प्यान कार्ड मगाएर आज शुक्रबार बिहान बैंकबाट डलर कार्ड ल्याएको यादवले बताए ।





