काठमाडौं : नेपालमा ‘इन्ट्रा डे’ सेयर कारोबारको चौतर्फी चर्चा हुन थालेको छ । यसैबीच नेप्सेले ‘इन्ट्रा डे’ कारोबार अब नेपाली बजारमा पनि आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ । नेप्सेले यसबारेमा पर्याप्त अध्ययन गरेर दोस्रो बजारमा ‘इन्ट्रा डे’ कारोबार आवश्यक रहेको निष्कर्ष निकालेको हो । नेप्सेले प्रवक्ता मुराहरि पराजुलीको संयोजकत्वमा ‘इन्ट्रा डे’ कारोबारको सम्भाव्यता अध्ययन गरेको थियो ।
उक्त अध्ययन प्रतिवेदनले दोस्रो बजारको दायरा फराकिलो भएको र अनलाइन प्रणालीले पनि प्रभावकारी रुपमा काम गर्न थालेकाले अब जतिसक्दो चाँडो ‘इन्ट्रा डे’ कारोबार सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ । उक्त अध्ययन प्रतिवेदन सञ्चालक समितिमा पठाइसकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यसलाई सञ्चालक समितिले पनि सकारात्मक रुपामा लिएको नेप्से स्रोतको भनाई छ ।








