काठमाडौं : अधिकांशलाई थाहा भएकै कुरा हो, एउटा राम्रोसँग लेखिएको रेज्यूमे (सीभी) ले रोजगारी पाउने प्रक्रियामा कति ठूलो भूमिका खेल्दछ । आफ्नो योग्यता तथा अनुभव बारे जानकारी गराउने भएकाले रोजगार खोज्ने तथा राजगारी दिने दुवैले राम्रो रेज्यूमेलाई प्राथमिकतामा राखेका हुन्छन् । हो त्यसैगरी, वित्तीय दुनियाँमा विवरणपत्र (प्रोस्पेक्टस) ले लगानीकर्तालाई त्यस्तै भूमिका निर्वाह गर्छ, जस्तो रेज्यूमेले रोजगारदातालाई गरेको हुन्छ । विवरणपत्रले कम्पनीको बारेमा विस्तृत जानकारी दिएको हुन्छ ।
यसले कम्पनीको इतिहास, भावी योजना तथा रणनीति, अवसर तथा चुनौती र के दिन खोजेको भन्ने लगायत सम्पूर्ण विषयवस्तुमा विस्तृत जानकारी समेटेको हुन्छ । यस्ता जानकारीले लगानीकर्तालाई सुसूचित निर्णय लिन मद्दत गर्दछ । कुनैपनि किसिमको धितोपत्र जारी गर्न खोज्ने कम्पनीले सम्बन्धित नियामकलाई विवरणपत्र पेश गर्नुपर्ने हुन्छ ।
नेपालको हकमा साधारण सेयर (आइपीओ), डिबेन्चर, बोन्ड लगायत धितोपत्रहरु जारी गर्न खोज्ने कम्पनीले नियामक नेपाल धितोपत्र बोर्डमा विवरणपत्र पेश गर्दछन् । धितोपत्र बोर्डले स्वीकृत गरेको विवरणपत्र अनुसार नै धितोपत्र जारी गर्नुपर्ने हुन्छ । यस्तो विवरणपत्रले कम्पनीको इतिहास, वित्तीय अवस्था, जारी गर्न लागेको धितोपत्रको किसिम, जारी गर्ने धितोपत्रको संख्या लगायत जनकारी दिन्छ ।
विवरणपत्र के हो ?
विवरणपत्र भनेको सर्वसाधारणलाई जारी गर्न लागिएको नयाँ धितोपत्रको बारेमा विस्तृत जानकारी दिने औपचारिक दस्तावेज हो । विवरणपत्र धितोपत्र जारी गर्नुअघि नियामक समक्ष पेश गर्नुपर्दछ । विवरणपत्रका आधारमा लगानीकर्ताले सम्बन्धित कम्पनीमा लगानी गर्ने वा नगर्ने भन्ने सुसूचित निर्णय गर्न सक्दछन् ।
विवरणपत्रभित्र समावेश हुनसक्ने जानकारीहरु :
– कम्पनीको इतिहास तथा यसको व्यवस्थापन समूहका बारेमा जानकारी ।
– लेखापरीक्षण गरिएको वित्तीय विवरणसहित अन्य वित्तीय जानकारी ।
– भावी योजना, रणनीति तथा वित्तीय प्रक्षेपण सम्बन्धी जानकारी ।
– जारी हुन लागेको धितोपत्रको किसिम, संख्या तथा यसको मूल्य सम्बन्धी जानकारी ।
– धितोपत्र बिक्रीबाट उठेको रकम लगानी सम्बन्धी जानकारी ।
– जोखिम तथा चुनौती सम्बन्धी जानकारी ।
– अन्डरराइटरहरु बारे जानकारी ।
उल्लेखित प्रमुख विषयका अलावा विवरणपत्रबाट लगानीकर्तालाई निर्णय लिन आवश्यक पर्ने अन्य विविध जानकारीहरु हासिल गर्न सकिन्छ । विवरणपत्रले कम्पनीको पृष्ठभूमिदेखि पुँजी वृद्धि गर्नुको उद्देश्यहरु बुँदागत गरी कम्पनीलाई सर्वसाधारणमाझ पारदर्शी बनाउँछ । जारी हुने धितोपत्र बिक्री गरी पुँजी जुटाउन कम्पनीप्रति सर्वसाधारणको चासो र ध्यानाकर्षण गर्नु विवरणपत्रको एक मुख्य उद्देश्यको रुपमा लिन सकिन्छ । ...








