काठमाडौं : चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम प्रयोगमा ल्याएको छ । कम्पनीले ‘हार्मोनीओएस’ नमक अपरेटिङ सिस्टम आफ्ना स्मार्टफोनसहित विधिन्न डिभाइसहरुमा प्रयोग सुरु गरेको हो । हुवावेले अमेरिकी प्रविधिमा आफ्नो निर्भरता अन्त्य गर्नकै लागि यस्तो कदम चालेको बताइएको छ । हुवावे अमरिकी कम्पनी एप्पल र गुगलको प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुन सक्ने देखिएको छ ।
सन् २०१९ मा अमेरिकाले कालोसूचीमा राखेपछि हुवावेले ‘हार्मोनीओएस’ सार्वजनिक गरेको थियो । यसको निर्माण भने सन् २०१६ देखि नै सुरु भइसकेको थियो । सन् २०१९ मा प्रविधिको क्षेत्रमा विश्वको पहिलो नम्बरमा आएको एक महिनापछि नै हुवावेलाई अमेरिकाले कालोसूचीमा राखेको थियो । कालोसूचीका साथै हुवावेमाथि विभिन्न प्रतिबन्धसमेत लगाएपछि कम्पनीको स्मार्टफोनको व्यापार निकै प्रभावित बनेको थियो ।





