सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा केही लोकप्रियता कमाउने खालका विषय पनि समेटेको छ । त्यसमध्ये एउटा हो स्नातक उत्तीर्ण युवाका लागि प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ५ प्रतिशत ब्याजदरमा ऋण दिने विषय ।
देशमा शैक्षिक बेरोजगारी दर बढिरहेका बेला युवा स्वरोजगार बनाउने उद्देश्यका लागि भन्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कुरा एकदमै सकारात्मक सराहनीय र स्वागतयोग्य छ । सरकारले अघिल्ला वर्षमा पनि यसबारे घोषणा गरे पनि कार्यान्वयनमा आउन सकेन् । सरकारले ल्याएको यो नीति लागू हुन सक्यो र नागरिकहरू पनि अनुशासित, मिहिनेती,लगनशील अनि धैर्यवान् हुने हो भने आगामी केही वर्षमा देशमा बेरोजगारीको सङ्ख्यामा कम गर्न यस्तो नीति लाभदायक हुनसक्छ ।
युवा उद्यमीको सङ्ख्या ज्यादा र विदेश पलायन हुनुपर्ने बाध्यता कम हुने निश्चित छ । कुनै क्षेत्रमा लगानी गरेर सफलता पाउने हो भने उच्च शिक्षा हासिल गरेका समग्र युवाहरूले कुनै कार्यालयमा काम गर्ने,घुम्ने कुर्सीमै बसेर जागिर खाने भन्ने मानसिकता पनि हटाउन जरुरी छ ।
हाम्रो देशमा यति धेरै अवसर छन्,यसलाई सही सदुपयोग गर्न अझैसम्म पनि युवाहरूको दिमागमा छिरेको छैन । स्वरोजगार हुन कतिपय कामका क्षेत्रमा एकदमै कम लगानीबाट सुरु गरेर पनि करोडसम्म पनि पुर्याउन सकिन्छ । त्यस्ता कामका लागि मिहिनेत अनि समय दिई विचलित निरन्तरता दियो भने प्रगति गर्न धेरै समय लाग्दैन ।
यदि सरकारले बजेटमा घोषणा गरेजस्तै बिना झन्झट शैक्षिक बेरोजगारहरू युवा वर्गलाई सहुलियत ऋण दिने हो भने नेपालमा त्यो रकमले धेरै कार्य गर्न सकिन्छ । यता बैङ्कहरूले पनि शैक्षिक प्रमाणपत्र धितो राखेर सीधै ऋण लगानी गर्ने कुरा आउँदैन । उनीहरूले शैक्षिक प्रमाणपत्रका साथमा ऋण लगानी गर्ने र त्यो कामबाट ऋण र ब्याज फिर्ता आउने सुनिश्चितता खोजेको हुन्छ । २५ लाख लगानी गरेर स्वरोजगार बन्नका लागि मैले निम्न केही बुँदा सुझाएको छु ।
–२५ लाख रूपैयाँले नेपालमा कृषिजन्य व्यवसाय गर्न सकिन्छ । हाम्रो देशमा हरेक परिवारमा केही न केही मात्रामा अवश्य पनि खेतीयोग्य जमिन छ । उक्त जमिनमा आधुनिक तरिकाले खेतीपाती,तरकारी लगायत नगदेबाली लगाउन सकिन्छ । उक्त कार्यका लागि आवश्यक पर्ने मल,बीउ र आधुनिक खनजोत गर्नका लागि ट्याक्टर लगायतका उपकरण किन्नको सो रकम प्रयोग गर्न सकिन्छ ।
–सो रकम पशुपालनका लागि खर्च गर्न सकिन्छ । नेपाल माछा मासुमा अझै पनि पूर्ण रूपमा आत्मनिर्भर भइसकेको छैन । मासुका लागि मात्रै वार्षिक अर्बौं रुपैयाँ भारतमा जाने गरेको छ । स्वेदेशमै आधुनिक प्रविधि अपनाएर सानो लगानीमा भए पनि गाई,भैँसी,बाख्रा,कुखुरा लगायतका पशुपालन तथा माछा पालन गर्न सकिन्छ ।
–नेपालमा गर्न सकिने अर्को व्यवसाय तयारी पोशाक उत्पादन पनि हो । २५ लाख रूपैयाँबाट १० देखि १५ वटासम्म सिलाई मेसिन खरिद गर्न सकिन्छ । तयारी कपडा उत्पादनका लागि कच्चा पदार्थ सहजै पाइने भएकाले केही कामदार राखेर सानो व्यवसाय गर्न सकिन्छ र यसको भविष्य धेरै राम्रो रहेको छ ।
–साबुन बनाउने कारखाना,धुप बनाउने कारखाना,सस्तो चप्पल बनाउने,ब्याग कारखाना,कपी छपाई,सेनिटरी प्याड उत्पादन जस्ता सानो लगानीमा यस्ता धेरैवटा व्यवसाय गर्न सकिन्छ जहाँ ४० देखी ५० जना कामदारलाई रोजगारी पनि दिन सकिन्छ । ...








