९ प्रतिशत ब्याजदरमा २ अर्बको नागरिक बचतपत्र बिक्री हुँदै, विदेश जानेबाट ५० करोड उठाइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएर निकै तल पुर्याएको बेला नेपाल राष्ट्र बैंकले निक्षेपकर्ताका लागि नयाँ अफर ल्याएको छ । अघिल्ला वर्षमा जस्तै राष्ट्र बैंकले यो वर्ष नागरिक बचतपत्रमार्फत् आम नागरिकबाट ऋण उठाउन लागेको हो ।
आन्तरिक ऋणसम्बन्धी तेस्रो चौमासिक कार्यतलिका सार्वजनिक गर्दै राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो । यस्तो बचतपत्रको अवधि ५ वर्ष हुनेछ भने ब्याजदर ९ प्रतिशत हुनेछ । यस्तो बचतबापतको ब्याजदर ६/६ महिनामा भुक्तानी राष्ट्र बैंकले जनाएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राख्नेलाई वाणिज्य बैंकले अधिकतम ७.५ प्रतिशत मात्रै ब्याज दिँदै आएका छन् । कतिपय बैंकहरुले मुद्दति खाताको ब्याजदरलाई घटाएर ५ प्रतिशतमा सीमित पारेका छन् । यस्तो अवस्थामा शुन्य जोखिम मानिने नागरिक बचतपत्र अवसर बन्न पुगेको छ । ...





