काठमाडौं । लामो समयदेखि लघुवित्त वित्तीय संस्थाले ग्राहकलाई डिजिटल भुक्तानी सेवा दिने भन्दै आए पनि हाल केहीले यसको शुरुआत गरेका छन् । कोभिड महामारीका कारण सुरक्षित रूपमा कारोबार गर्नुपरेकाले लघुवित्तहरू अन्ततः डिजिटल कारोबारमा जोडिन थालेका हुन् ।
पछिल्लो समय आठओटा लघुवित्त वित्तीय संस्थाले ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएका छन् । सञ्चालनमा रहेका ७४ ओटा लघुवित्त वित्तीय संस्थामध्ये ग्लोबल आईएमई, छिमेक, लक्ष्मी, विजय, वोमी, साधना, जीवन विकास र किसान लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवा शुरू गरेका हुन् । ई–सेवामार्फत यो सुविधा लिन थप १५ ओटा लघुवित्त संस्था पाइपलाइनमा रहेको कम्पनीले बताएको छ ।
नेपाल लघुवित्त बैंकर्स संघले पनि अबको प्राथमिकता विद्युतीय भुक्तानी प्रणाली भएकोे भन्दै यसको प्रयोगमा जोड दिँदै आएको अध्यक्ष वसन्तकुमार लम्सालले बताए ।
आवश्यकता अनुसार लघुवित्त संस्थाहरूले डिजिटल भुक्तानी सेवा शुरू गर्दै जाने उनको भनाइ छ । कोरोना महामारीले कार्यालयमा आउजाउ गर्न चुनौती भएकाले पनि अबको विकल्प डिजिटल कारोबार भएको उनले बताए । ...





