काठमाडौं : बैंक तथा वित्तीय संस्थामा डिजिटल कारोबार बढिरहेको छ। तर सहकारी क्षेत्रमा डिजिटल कारोबार अझै सुरु हुन सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआरकोडबाट दिनप्रतिदिन डिजिटल कारोबार भइरहेको छ। तर सहकारी क्षेत्रले निर्वाधरूपमा प्रविधि प्रयोग गर्न पाएका छैनन्। केही सहकारीले जबर्जस्ती डिजिटल कारोबार सुरु गरे पनि सदस्यले निकै कम मात्रै डिजिटल कारोबार गरेको पाइएको छ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिना अवधिमा तीन गुणा बढीले मोबाइल बैंकिङमार्फत डिजिटल कारोबार गरेका छन्। साउनमा १८ अर्ब ३९ करोड रुपैयाँ मोबाइल बैंकिङमार्फत कारोबार भएकोमा चैत्रमा ४८ अर्ब ६५ करोडको कारोबार भएको छ।
साउनमा १ खर्ब ५६ अर्ब आईपीएसमार्फत कारोबार भएकोमा चैत्रमा २ खर्ब ११ अर्बको कारोबार भएको छ। साउनमा ७ अर्ब ५७ करोड वालेटबाट कारोबार भएकोमा चैत्रमा ११ अर्ब कारोबार भएको छ। इन्टरनेट बैंकिङबाट साउनमा ३ अर्ब कारोबार भएकोमा चैत्रमा १० अर्ब २१ करोड कारोबार भएको छ। क्यूआरकोड साउनमा उल्लेख्य कारोबार भए पनि चैत्रमा ह्वात्तै घटेको छ। साउनमा २ अर्बको कारोबार हुँदा चैत्रमा ७२ करोडको मात्रै कारोबार भएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थामा क्यूआरकोड नयाँ प्रविधि मानिन्छ। ...





