हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। त्यसमध्ये नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ३ अर्ब २० करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमाशुल्क आर्जनमा नेकोले आफुलाई अब्बल सावित गर्दा खुद नाफा आर्जनमा भने शिखर इन्स्योरेन्सले शीर्ष स्थानमा रहेको छ। यस अघि खुद बीमाशुल्क आर्जनमा पनि शिखर इन्स्योरेन्स पहिलो हुँदै आइरहेको थियो। नेकोले खुद बीमाशुल्क आर्जनमा शिखरलाई पछि पार्दै पहिलो बनेको हो।
सबैभन्दा धेरै खुद बीमाशुल्क संकलन गर्नेमा नेको इन्स्योरेन्स पहिलो बन्दा, नेप्सेमा भर्खरै सूचीकृत सानिमा जनरलले सबैभन्दा कम खुद बीमाशुल्क आर्जन गरेको छ। सबैभन्दा कम खुद नाफा आर्जन गर्नेमा भने युनाईटेड इन्स्योरेन्स रहेको छ।
यस अवधिमा बीमा समितिको निर्देशन अनुसार १७ कम्पनीले न्यूनतम चुक्ता पूँजी कायम गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएका छन्।
शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ।
खुद बीमाशुल्कमा नेको र खुद नाफा आर्जन शिखर इन्स्योरेन्स पहिलो
१८ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क नेको इन्स्योरेन्स पहिलो बन्दा खुद नाफा आर्जनमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। खुद बीमाशुल्क आर्जनमा शिखरलाई पछि पार्दै नेको इन्स्योरेन्सले पहिलाे स्थान हात परेकाे हो। ...








