कुनै पनि उद्यम व्यवसाय गर्नका लागि वित्तीय स्रोत (पैसा) को व्यवस्था गर्नुपर्ने हुन्छ । सानो ठूलो व्यापार गर्न, उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन गर्नका लागि सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफूसँग नहुन पनि सक्दछ । यस्तो पैसा परम्परागत रुपमा साहु महाजनहरुले उपलब्ध गराउने गर्दथे र तिनले ऋणीसँग चर्को ब्याज असुल उपर गर्दथे । यसमार्फत कतिपय साहुहरुले अन्यायपूर्वक ऋणको अङ्क बढाउने र नाजायज रुपमा शोषणसमेत गर्दथे भन्ने सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा ऋणका रुपमा बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउँछन् ।
यी संस्थाहरु कानुन बमोजिम स्थापना र सञ्चालन हुने हुँदा कानुन बमोजिम मात्र ब्याज असुल गर्दछन् । नाजायज फाइदा लिन खोजेमा सुपरिवेक्षण गर्ने संस्थाले सुपरिवेक्षण गर्दछ र कानुनी दायरामा मात्र सीमित हुन निर्देशन दिन्छ । यदि नमानेमा बैंक तथा वित्तीय संस्थाले कारवाहीको भागी बन्नुपर्दछ ।
– निश्चित अवधिपछि ब्याजसहित (साँवा मात्र) फिर्ता गर्ने सर्तमा अन्य व्यक्ति वा निकायसँग लिइएको रकम नै कर्जा वा ऋण हो ।
– आफ्नो रकम प्रयोग गर्दा विस्तारै बचत गर्दै गए अनुसार जम्मा भइसकेपछि मात्र लगानी गर्न सकिन्छ भने ऋणबाट लगानी गर्दा एकैपटक तुरून्तै रकम प्राप्त गर्न र लगानी गर्न सकिन्छ ।
– आफ्नो रकम कुनै दायित्व विना नै प्रयोग गर्न सकिन्छ भने ऋणले दायित्व सिर्जना गर्ने र त्यसको लागत व्यहोर्नु पर्ने हुन्छ ।
– ऋणलाई सामान्यतया कर्जा पनि भन्ने गरिन्छ । कर्जा सामान्यतया चालु पुँजी कर्जा, सम्पत्ति खरिद कर्जा, उपभोग कर्जा, लगानी कर्जा विभिन्न प्रकारका हुने गर्दछन् । ७.२ बैंक कर्जा किन लिइन्छ ।
– उद्योग व्यवसायमा लगानी गर्न,
– अनपेक्षित आपत विपतमा खर्च गर्न,
– घरायसी टिकाउका सामानहरु (जस्तै साइकल, मोटरसाइकल, मोटर, टि.भी., फ्रिज, आदि) खरिद गर्न,
– छोराछोरी पढाउन,
– स्वास्थ्य उपचार गर्न,
– विभिन्न सामाजिक कार्यमा खर्च गर्न, आदि ।
बैंक कर्जा लिँदा के के कुरामा ध्यान दिनुपर्छ ?
– तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा वा ऋण लिनु हुँदैन ।
– भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनुपूर्व परिवारका सदस्यहरुसँग समेत सरसल्लाह गर्नुपर्छ ।
– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त औपचारिक संस्थाहरुबाट मात्र ऋण लिने गरेमा अनावश्यक ठगी हुनबाट र चर्को ब्याजदरबाट बच्न सकिन्छ ।
– ऋण लिनुपूर्व तुलनात्मक रुपमा महँगो ब्याजदर नलगाउने, अन्यायपूर्ण सर्तहरु नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, ब्याजका अतिरिक्त अन्य थप शुल्कहरु कम मात्र लिने, ऋण प्रक्रिया छिटो एवम् सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नुपर्ने या नपर्ने जस्ता विषयहरु सोधपुछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी सो संस्थाबाट ऋण लिनु उपयुक्त हुन्छ ।
– ऋणको साँवा र ब्याजको किस्ता कहिले–कहिले र कति–कति रकम तिर्नुपर्ने हो सोबारे प्रष्ट जानकारी लिनुपर्छ ।
– तपाईंको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा ब्याज तिर्न पुग्ने हुनुपर्छ ।
– मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात् आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।
– ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरून्तै आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा ब्याज कसरी भुक्तानी गर्ने हो सोको योजना पनि बनाउनुपर्छ ।
– जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नुपर्दछ । यदि त्यस्तो काममा लगानी गरिएन भने कर्जा दुरूपयोग भएको मानिनुका साथै पछि कर्जा भुक्तानी गर्न सकिन्न ।
– समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नु पर्ने, धितो लिलामी हुन सक्ने, कारवाहीको सामना गर्नुपर्ने हुन सक्छ ।
– सामूहिक जमानीमा ऋण लिएको भए समूहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाब व्यहोर्नु पर्ने हुन्छ ।
– बैंकबाट लिएको ऋणको साँवा ब्याज समयमा बुझाउन नसक्दा अन्ततः कर्जा सूचना केन्द्रको कालो सूचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउनेतर्फ सधैँ सजग रहनुपर्छ ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन हिचकिचाउन नहुने
केही मानिसमा बैंकबाट ऋण लिँदा छरछिमेकीले थाहा पाउलान् कि भनेर साहु महाजनबाट चर्को ब्याजदरमा ऋण लिने प्रचलन रहेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर आफ्नो उद्यमलाई अगाडि बढाउँदा तथा विकास र विस्तार गर्दा ब्याज कम पर्न जान्छ । जसले व्यापार व्यवसाय गर्दा हुने पँुजीगत लागत कम हुन गई व्यापार व्यवसायमा छिटो नाफा कमाउन सकिन्छ । यसरी व्यापार व्यवसायमा लगानी गरी देश विकासमा टेवा पु¥याउन सकिन्छ भने अर्कोतर्पm रोजगारी प्रदान गर्न सकिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई आफ्नो उद्यम व्यवसायको काम गर्नु गौरव गर्न लायक कार्य हो ।
कर्जाका प्रकार
बैंकले विभिन्न प्रकारका कर्जाहरु प्रदान गर्दछन् । तीमध्ये प्रमुख कर्जाहरु निम्नानुसार छन्ः
१. व्यक्तिगत कर्जाः
त्यस्तो कर्जा जुन बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत खर्चका लागि प्रदान गर्दछन् । यस्तो कर्जा छोटो समयका लागि प्रदान गरिन्छ र सामान्यतया व्यक्तिगत कर्जा समूह जमानी वा व्यक्तिगत विश्वासका आधारमा प्रदान गरिन्छ । यस्तो कर्जा भ्रमण गर्न, घरायसी सामानहरु खरिद गर्न प्रयोग गरिन्छ र यस्तो कर्जा विना धितो वा धितो राखेर प्रदान गरिन्छ ।
२. घर जग्गा ऋणः
व्यक्तिगत प्रयोजन वा व्यावसायिक प्रयोजनका लागि घर जग्गा खरिद गर्न, घर जग्गाको विकास गर्न र घर निर्माण गर्न प्रदान गरिन्छ । यस्तो कर्जा सामान्यतया लामो अवधिका लागि प्रदान गरिन्छ । यस्तो कर्जा सम्बन्धित घर जग्गा धितो राखी दिने गरिन्छ ।
३. अधिविकर्ष कर्जाः
व्यवसायलाई छोटो समयका लागि नगद आवश्यक पर्ने हुनाले विना धितो छोटो समयका लागि बैंक तथा बित्तीय संस्थाले चालु पुँजीको व्यवस्थापनका लागि यस्तो ऋण प्रदान गर्दछन् । यस्तो ऋणमा ब्याजदर अन्य ऋणको भन्दा बढी हुन्छ । पैसा आफ्नो खातामा नसारेसम्म यस्तो कर्जामा ब्याज लाग्दैन ।
४. हायर पर्चेज कर्जाः
कुनै पनि सवारी साधनहरुको खरिदमा विद्यार्थीसँग नेपाल राष्ट्र बैंक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी निश्चित प्रतिशतसम्म मात्र प्रदान गर्ने कर्जालाई हायर पर्चेज कर्जा भनिन्छ । यस्तो कर्जामा धितोको रुपमा सम्बन्धित सवारी साधन नै रहन्छ । कर्जा नतिरेसम्म यस्तो सवारी साधन बैंकको नाममा रहन्छ र कर्जा तिरिसकेपछि सम्बन्धित धनीको नाममा बैंकले सवारी साधनको नामसारी गर्दछ ।
५. अध्ययन कर्जाः
यदि कुनै पनि विद्यार्थीले विदेश अध्ययन गर्न रकम अभाव भएमा बैंकबाट ऋण लिई विश्वविद्यालय वा कलेजको शुल्क भुक्तानी र अन्य व्यवस्थापनका लागि ऋण लिन सक्छ । त्यस्तो कर्जालाई अध्ययन कर्जा भनिन्छ । यस्तो कर्जा लिन विश्वविद्यालय वा कलेजमा भर्ना भएको प्रमाण र आवश्यक सम्पत्ति धितोको रुपमा बैंकमा राख्नु पर्दछ ।
६. व्यावसायिक कर्जाः
व्यावसायिक संस्थाहरुलाई चल सम्पत्ति खरिद गर्न र सञ्चालन खर्च भुक्तानी गर्न कर्जा आवश्यक पर्दछ । त्यस्तो कर्जालाई व्यावसायिक कर्जा भनिन्छ । यस्तो कर्जा लामो अवधि र छोटो अवधिको दुवै हुनसक्छ । यस्तो कर्जा व्यावसायिक संस्थाहरुले स्थिर सम्पत्ति खरिद गर्न वा खर्चहरु भुक्तानी गर्न प्रयोग गर्न सक्दछन् तर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाउँदैनन् ।
७. हाइपोथिकेशन कर्जाः
यस्तो कर्जा प्राप्त गर्न कुनै पनि शीर्षक विना र त्यसबाट प्राप्त आम्दानीमा मालिकको अधिकार नलाग्ने गरी सम्पत्ति धितो राखी कर्जा प्रदान गरिन्छ । यदि सम्झौताका सर्तहरु पुरा नगरेमा यस्तो सम्पत्ति बैंक तथा वित्तीय संस्थाले आपूmले लिन सक्छन् । यस्तो कर्जा सामान्यतया चल सम्पत्तिमा दिने गरिन्छ । यस्तो कर्जामा तेस्रो पक्षको धितो स्वीकार गरिन्छ ।








