अब सरकारलाई सामाजिक संजालको विज्ञापनबाट राजश्व आउने
नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको फिट इन्टरनेशनल गूगलको एडको पनि आधिकारिक रिसेलर बन्ने भएको छ ।
गूगल एडको रिसेलर बन्ने प्रक्रिया अन्तिम चरणमा रहेको भन्दै एक हप्ता भित्र गूगलसँग सम्झौता हुने फिट इन्टरनेसनलले जनाएको छ ।
यो सम्झौतासँगै नेपालबाट आधिकारिक प्रक्रियाबाट गूगल एड दिन सकिने छ । गूगल एड आधिकारिक रुपमा नेपालबाटै दिन सक्नेगरी सम्झौता गर्दैछौं,’ आइसिटी समाचारसँग कुरा गर्दै फिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रवि सिंघलले भने, ‘एक हप्ताभित्र सबै प्रकृया पुरा हुन्छ ।’
योजनाअनुसार २० दिनभित्रमा कारोबार सुरु हुनेछ । फिट इन्टरनेसनले गूगलका सबै सर्तहरु पुरा गरेर नेपालको विज्ञापनको आधिकारिक रिसेलरको लागि आवेदन दिइसकेको छ ।
उसका विभिन्न सर्तहरु रहेकाले त्यसलाई पुरा नगरी आधिकारिक रिसेल बन्न गाह्रो रहेको सिंघलले बताए । विभिन्न सर्त पुरा गर्दै विज्ञापनको आधिकारित रिसेलरको लागि आवेदन दिनुपर्छ । त्यसपछि कम्पनीले ‘अवार्ड’ पाउँछ ।
उताबाट सबै प्रकृया पुरा गरेपछि नेपालल राष्ट्र बैंकबाट स्वीकृति पनि लिनुपर्छ । ‘सायद एक हप्तामा आधिकारिक रिसेलर बनेको घोषणा गर्नेछौं र २० दिनभित्र कारोबार सुरु हुनेछ,’ उनले भने ।
फेसबुकमा मात्र सीमित नभएर नेपालमा धेरै प्रयोग भइरहेका सबै डिजिटल प्लेटफर्म ल्याउन खोजिरहेको बताए । जस्तो कि लिंकडिन, ट्विटरलगायतका सामाजिक संजाल। जुन नेपालमा व्यापक रुपमा प्रयोग भइरहेको छ ।
गूगल र फेसबुकसँग गरेको यो सम्झौताबाट नेपालबाट भइरहेको गैरकानुनी विज्ञापनको कारोबार रोकिने विश्वास उनको छ ।
‘हामीले खाली विज्ञापनलाई मात्र हेरेका छैनौं,’ उनले भने, ‘सामाजिक संजालमा भइरहेको गैरकानुनी कोरोबार रोक्ने प्रयास हो । जसबाट मुलुकले राजश्व प्राप्त गर्ने छ ।’
नेपालको पैसा अन्य च्यानलबाट बाहिर गइरहेको छ । त्यसबाट सरकारले कुनै पनि कर, राजश्व प्राप्त गर्न सकेको छैन । ‘डिजिटल मार्केटिङभन्दा पनि यो सबै कानुनी दायरामा आओस् भन्ने हाम्रो फोकस छ,’ उनले भने ।
फिट इन्टरनेसनलले सोमबार मात्रै नेपालमा पहिलो फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको बताएको थियो ।
फिट इन्टरनेसनले फेसबुक र गुगलसँग भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ।...





