काठमाडौं : नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा जुटेको छ । अहिलेको तयारी अनुसार सबै काम अघि बढेमा जेठ पहिलो साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने केन्द्रीय बैंकले अन्तरिक तयारी गरिरहेको छ । तथापि, केन्द्रीय बैंकका विभिन्न विभागका निर्देशकदेखि अन्य धेरै कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकाले काम गर्न अलि कठिन भइरहेको डेपुटी गभर्नर बमबहादुर मिश्रले बताएका छन् ।
उनले भने, ‘मौद्रिक नीतिको त्रैमासिक समीक्षा जेठ पहिलो साता गर्ने तयारी गरेका छौं । तर, धेरै साथी (राष्ट्र बैंकका कर्मचारी) हरु संक्रमित हुनु भएको छ । थोरै जनशक्तिबाट पनि हामीले अध्ययन गरिरहेका छौं । अनलाइन माध्यमबाट विभिन्न क्षेत्रका साथीहरुसँग छलफल भएको छ । विषम परिस्थित भएका कारण ठ्याक्कै यही दिन समीक्षा सार्वजनिक हुन्छ भन्न सकिने अवस्था छैन ।’
केन्द्रीय बैंकको अनुसन्धान विभागका अनुसार चैत मसान्तसम्मको तथ्यांक संकलन भइसकेको छ भने विभागीय सुझाव समेत लिने क्रम जारी रहेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत खासै ठूलो नीतिगत परिर्वतन नहुने केन्द्रीय बैंक स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘त्रैमासिक समीक्षामा अहिलेको अर्थतन्त्रको अवस्था, तरलता र कर्जा प्रवाहको स्थितिलगायतका विषयमा केन्द्रित रहेर आवश्यकता अनुसारको सामान्य नीतिगत परिर्वतन मात्रै गर्ने तयारीमा केन्द्रीय बैंक छ ।’...





