विद्युत् नियमन आयोगले आगामी १० वर्षलाई लक्षित गर्दै मार्गचित्र निर्माण अघि बढाएको छ । साढे तीन वर्षअघि कानुनी रुपमा र दुई वर्षअघि पदाधिकारी नियुक्ति भएर सक्रिय रहेको ऊर्जा क्षेत्रको नियामक निकाय आयोगले ६ महिनाभित्र मार्गभित्र निर्माण गर्ने गरी काम अघि बढाएको हो ।
आयोगले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरु निर्धारण गरी मार्गचित्र निर्माण अघि बढाएको र ६ महिनाभित्र पूरा हुने आयोगका सदस्य एवं प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । आयोगका पदाधिकारी नियुक्त भएको दुई वर्ष पुगेको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा उनले दिएको जानकारी अनुसार २०८०/०८१ को लागि तत्कालीन लक्ष्य तथा ६ वर्षका लागि मध्यकालीन र १० वर्षका लागि दीर्घकालीन लक्ष्य निर्धारण हुनेछन् ।
आयोगले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका पनि छिट्टै बनाउने गरी तयार अघि बढाएको जानकारी पनि डा. धितालले दिए । नेपालले बढी भएको बिजुली भारतलाई बेच्ने बताउँदै आए पनि भारतले अन्तरदेशीय विद्युत् व्यापार निर्देशिका बनाए पनि हालसम्म बनाएको छैन । आयोगका अनुसार, तीन वर्षभित्र उपभोक्ता महशुल निर्धारण निर्देशिकाको संशोधन, ग्रिड र वितरण संहिता निर्माण, मुख्य कार्यसम्पादक सूचक, विद्युत् खरिदविक्री दर निर्धाण्रण निर्देशिका, अनुमति प्राप्त व्यक्तिको संहिता, उपभोक्ता÷ग्राहकको पहुँचको लागि रणनीति, उपभोक्ता सेवा निर्देशिका तथा सेवा प्रदायको कार्य सम्पादनको मापदण्ड, खुल्ला पहुँच सम्बन्धी निर्देशिका लगायत बनाउने लक्ष्य राखिएको छ ।





