सम्पादकीय : नेपाल राष्ट्र बैंक स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको छ । बैंकको यो वार्षिकोत्सव तथा नयाँ वर्ष २०७८ समेतको पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
गएको वर्ष नेपाल तथा विश्वका लागि सुखद रहेन । कोभिड–१९ का कारण विश्वले आर्थिक क्षेत्रमा ठूलो झड्का खेप्नु परेको छ । विश्व बैंकका अनुसार विश्वले तीन ट्रिलियन डलर बराबरको क्षति बेहोर्नु परेको छ भने एसियाली विकास बैंकका अनुसार नेपालको अर्थतन्त्रमा करिब २.३ अर्ब अमेरिकी डलर अर्थात् सन् २०२०/२१ को कुल गार्हस्थ्य उत्पादन को ७.१ प्रतिशत नोक्सानी देखिएको छ । कोरोना महामारी सुरु भएसँगैको अवस्थामा सन् २०१९/२० मा आर्थिक वृद्धि ८.५ प्रतिशतभन्दा माथि हुने लक्ष्य राखिएको भए तापनि पछि यो वृद्धि २.३ प्रतिशत र हालै मात्र चालीस वर्षपछि १.९ प्रतिशतको ऋणात्मक वृद्धिमा सीमित हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ ।
हालै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपण अनुसार नेपालको आर्थिक वृद्धि सन् २०२१ मा २.९ प्रतिशत र सन् २०२२ मा ४.२ प्रतिशत हुने अनुमान गरेको छ । यसप्रकारको आर्थिक झट्काले नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका अन्य सबै क्षेत्र प्रभावित हुने निश्चित छ । कोभिडको असर यति समयसम्म रहने भन्ने कुनै निश्चितता नभएको सन्दर्भमा कोभिडबाट सुरक्षित रहँदै आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने स्थिति छ । यसप्रति हामी सबै सजग र सचेत रहने नै छौँ ।
यस विषम परिस्थितिमा पनि नेपालको समष्टिगत आर्थिक स्थायित्वका साथै वित्तीय क्षेत्र स्थायित्व कायम रहनु सन्तोषको कुरा हो । यद्यपि यसलाई निरन्तरता दिनु नेपाल राष्ट्र बैंकका लागि चना ु ैतीको विषय हो । यस असहज परिस्थितिमा अमुक बैंक वा व्यक्तिले आफ्नो मात्र स्वार्थ नहेरी सबै बाँचौँ र बचाऔँ भन्ने भावनालाई आत्मसात् गरी क्रियाकलाप अघि बढाउनु नितान्त आवश्यक छ । कोभिड–१९ सँग लड्न विश्वका सरकार र केन्द्रीय बैंकहरूले सरकारी वित्त नीति र मौद्रिक नीतिका औजारहरूलाई सँगसँगै अगाडि बढाइरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकको तर्फबाट केही महत्वपूर्ण योजना तथा कार्यक्रम घोषणा गरिएका छन् । अनिवार्य नगद अनुपात घटाउने, वैधानिक तरलता अनुपात को दरमा कटौती, कर्जा र ब्याज भुक्तानीको भाखा पर सारिदिने, कर्जाको पुनरतालिकीकरण÷पुनर्संरचना र तोकिएकै समयमा भुक्तानी गरेमा १० प्रतिशत छुट दिने, पुनरकर्जा कोषको रकमलाई वृद्धि गर्ने एवम् काउन्टर साइक्लिकर बफर कायम गर्नुपर्ने प्रावधानलाई केही समयको लागि स्थगन आदि केही कदमहरू हुन् । प्रस्तुत सन्दर्भमा वित्तीय नीतिबाट समत उद्या े ेग लगायतका क्षेत्रलाई सहुलियत प्रदान गर्न सके अर्थतन्त्रको पुनरुत्थानमा सहायता पुग्न जाने निश्चित छ । सदाझैँ बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा गभर्नरज्यूबाट प्रस्तुत मन्तव्य, आर्थिक, वित्तीय, मौद्रिक तथा व्यवस्थापन विषयका नेपाली तथा अङ्ग्रेजी भाषाका आर्थिक लेखहरू समेट्ने परम्पराअनुरूप प्रस्तुत विशेषाङ्क प्रकाशन गरिएको छ । यसमा समेटिएका लेख रचनाहरू सरोकारवाला सबैका लागि उपयोगी हुने विश्वास हामीले लिएका छौं । साथै, यसमा समेटिएका लेखमा प्रस्तुत विचार लेखकका निजी विचार हुन् जसले संस्थाक प्रतिधित्व गर्नेछैन । प्रस्तुत विशेषाङ्कमा समेटिएका लेखका स्रष्टाहरूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौँ । साथै, सम्पादन तथा प्रकाशन कार्यमा संलग्न सम्पूर्ण कर्मचारीहरू धन्यवादका पात्र हुनुहुन्छ । अन्त्यमा, आगामी दिन नेपाल तथा समस्त विश्वका लागि सहज र सुखमय बन्दै जाऊन् भन्ने कामना गर्दै नयाँ वर्षको उपलक्ष्यमा पुनः शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल राष्ट्र बैंक ६६ औं वार्षिकोत्सव विशेषाङ्क – वैशाख १४, २०७८ (पूर्ण पाठ सहित)





