काठमाडौं : सीडीएस एन्ड क्लियरिङ लिमिटेडले (सीडीएस) ले सञ्चालनमा ल्याएको मेरो सेयर सफ्टवेयरमा पछिल्लो समय देखिएको समस्या आंशिक रुपमा समाधान भएको छ । मेरो सेयर सफ्टवेयरमा विगत एक महिनादेखि खासै समास्या आएको छैन । तर साइट स्लो खुल्ने समस्या भने यथावत् रहेको छ । बेला बेला ह्याङ हुने समस्या पनि जारी छ । तर खुल्दै नखुल्ने मुख्य समस्या भने समाधान भएको दाबी गरिएको छ ।
यसअघि बारम्बार प्राविधिक समस्या आइरहने मेरो सेयरमा सीडीएसले २०७७ चैत १७ गते दुई वटा सर्भर थपेसँगै समस्या केही हदसम्म समाधान भएको हो । मेरो सेयरमा आउने समस्याको पूर्णरुपमा समाधान गर्नका लागि सफ्टवेयर अपडेटको काम भइरहेको सीडीएसका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यले नेपाली पैसालाई जानकारी दिएका छन् ।
साथै, सीडीएसले एक महिना अघि थपेको दुई वटा सर्भरले पनि केही हदसम्म समस्याको समाधान गरेको उनले जानकारी दिए । उनले भने, ‘मेरो सेयरमा आउने समस्याको पूर्णरुपमा समाधानका लागि सीडीएसले सफ्टवेयर अपडेट गर्ने काम गरिरहेको छ । अहिले सर्भर थप गरिसकेपछि मेरो सेयरमा ठूलो समस्या भने आएको छैन ।’ सफ्टवेयर अपडेट गर्न भने केही समय लाग्ने उनले बताए । ...





