काठमाडौं । सरकारले आइतबारदेखि नागरिक एप औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । औपचारिक रुपमा सार्वजनिक भएसँगै नागरिक एपबाटै बैंक खाता खोल्न सकिने सुविधा समेत उपलब्ध भएको छ ।
तर केही प्रयोगकर्ताले भने नागरिक एपबाट खाता खोल्दा बैंकमै पुग्नुपर्ने म्यासेज आएको भन्दै स्क्रिनशटहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । यस विषयमा टेकपानाले शिद्धार्थ बैंकसँग बुझ्ने प्रयास गरेको छ ।
बैंकका विजनेस सपोर्ट हेड सुरेश महर्जनले म्यासेञ्जरको पुरानै अटो रेस्पोन्स सिस्टमका कारण यस्तो म्यासेज गएको प्रष्ट पारेका छन् । ‘सरकारले आज मात्र नागरिक एपबाट बैंक खाता खोल्न सकिने सुविधा सुरु भएको घोषणा गर्यो । यो घोषणा हामीले गर्ने विषय थिएन,’ उनले भने, ‘भर्खर मात्र सरकारको तर्फबाट यसको घोषणा भएकाले सिस्टम लाइभमा गइसकेको छ । तर हाम्रा सबै सिस्टम त्यससँग सिंक्रोनाइज गर्न बाँकी छ ।’ ...





