अहिले जताततै क्युआर कोडको लहर छ । किराना पसलदेखि सब्जिमण्डीसम्म क्युआर कोडमय बनेको छ । यससँगै आम उपभोक्तामा भने अर्को समस्या थपिएको छ । त्यो हो, कति वटा कम्पनीको क्युआर कोड झुन्ड्याउने ? यस्तै क्युआर कोडको कारोबार गर्दै हिँड्ने एउटा कम्पनीले चाहिँ यो समस्याको समेत समाधान गरिसकेको छ । त्यही डिजिटल प्रविधिको क्षेत्रमा अरू भन्दा एक कदम अगाडी रहेको दाबी गर्ने प्रभु म्यानेजमेन्टको अध्यक्ष कुसुम लामासँग आर्थिक न्युज डटकमले प्रविधि वार्ता गरेको छ । प्रस्तुत छ सोही वार्ताको सम्पादित अंशः
प्रभु टेक्नोलोजीले खास के काम गर्छ ?
हामीले इन्क्लुसिभ डिजिटल फाइनान्सियल सोलुसनहरू दिइरहेका छौँ । हामी बजार केन्द्रित भएर काम गछौं । त्यसैले बैंकसमेत पुग्न नसकेको ठाउँमा हामी पुग्नु पर्छ भन्ने हाम्रो मुख्य लक्ष्यमा केन्द्रित भएका काम गर्दैछौं । त्यसबाहेक प्रभु म्यानेजमेन्टले सहकारीहरूलाई समेत डिजिटलाइज गर्ने काम गरिरहेका छ । कुनै पनि सहकारीको डिजिटल कारोबार गर्न सक्ने क्षमता बैंकको भन्दा कम नहोस् भन्ने हाम्रो उद्देश्य हो ।
सहकारीहरू त ग्रामीण क्षेत्रमा धेरै छन् नि ? कसरीका काम गर्नु हुन्छ ?
हाम्रा कर्मचारीहरूले गाउँ गाउँमा गएर सहकारी सञ्चालकहरूलाई तालिम दिन्छन् । हाम्रो क्षेत्रीय कार्यालयहरूले त्यो कामको संयोजन गर्छन् । उल्लेखनीय कुरा अझ के हो भने हामी यस्ता तालिमबापत शुल्क समेत लिँदैनौँ । हामी किन यसो गर्दैैछौँ भने हाम्रो प्रारम्भिक आधार त रेमिट्यान्स हो । जुन स्थानीय मानिसहरूसम्म पुर्याउने काम तीनै सहकारीले गर्ने गर्छन् ।
हामीले देशको सुदूरपश्चिम भेगमा यस सम्बन्धी विशेष काम गरेका छौँ । महिला समूहहरूलाई तालिम दिएका छौँ । जहाँ नगद आफूसँग राख्नु अत्यन्तै ठुलो जोखिम हुन्छ । त्यस्ता दुर्गम गाउँहरूमा समेत डिजिटलाइज विधिबाट भुक्तानी लिने र दिने काम गराएका छौँ ।
उदाहरणका लागि एउटा किसानले दूध बेचेर प्राप्त गरेको नगद बोकेर घरसम्म जाँदा जुन जोखिम उसले बहन गर्छ त्यसबाट मुक्त गराउन हामीले डिजिटलाइज भुक्तानी गराउने काम गरेका छौँ ।
मानिसहरूसँग वित्तीय पहुँच पुर्याउन काम गरिरहनु भएको छ होइन ? ...





