गत साता (१७ चैतमा) काठमाडौं ज्याठास्थित मेगा बैंकको एटिएम बुथ ह्याक गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ परे । उनले कार्डबाट पैसा झिकेका थिएनन्, साँचो निकालेर मेसिन नै खोल्न थालेका थिए ।
बैंकका सुरक्षा गार्डले सिसी क्यामेरा नियालिरहेका थिए । चिनियाँ नागरिकले मेसिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा फोन गरे । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङ पक्राउ परेका छन् । विभिन्न बैंकको एटिएम बुथबाट अस्वाभाविक रूपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।
सिआओलङ ज्याठास्थित होटेल मोन्टिसमा बस्ने गर्थे । उनलाई पक्राउ गरेपछि प्रहरी उनी बसिरहेको होटेलको ४०५ नम्बर कोठामा पुगेको थियो । उनी बसेको कोठाबाट प्रहरीले विभिन्न सामग्री बरामद गरेको छ । उनको साथमा १० थान एटिएम कार्ड, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेनड्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
चीनबाट नेपाल आउने वेला विमानस्थलमा साथीले आफूलाई ६५ डलर पैसा र साँचो दिएको वाङ जियाओलोले प्रहरीसमक्ष बताएका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘एटिएमको सिरियल नम्बरसहितको फोटो खिचेर पठाउनुभनेको थियो ।’ १६ चैतमा नेपाल आएका उनले यहाँ आएलगत्तै पहिलो एटिएममा साँचो छिराउँदा नखुलेपछि दोस्रोमा प्रयास गरेका थिए ।
झस्काउने विगत, उही मूलका ह्याकर
नेपालमा एटिएम ह्याक भएको यो पहिलो घटना होइन । विगत केही वर्षयता एटिएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा चिनियाँ नागरिकको संलग्नता भेटिँदै आएको छ ।
एक वर्षअघि मात्र काठमाडौंका विभिन्न स्थानका ९ वटा घरबाट साइबर अपराध गरेको अभियोगमा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूलाई एक हजार रूपैयाँ जरिवाना गरी चिनियाँ प्रशासनको अनुरोधमा प्रशासनको जिम्मा लगाएर उनीहरूकै देशमा फिर्ता पठाइएको थियो । उनीहरूलाई चीन सरकारले विशेष विमान पठाएर आफ्नो देशमा लगी उनीहरूविरुद्ध कनुनी प्रक्रिया अघि बढाएको थियो ।
बढ्दै छ साइबर अपराध
एटिएम ह्याकिङका घटनालाई साइबर अपराधका रूपमा लिने गरिन्छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढ्दो छ । नेपाल प्रहरीका अनुसार फेसबुक, इमेल, ट्विटर, युट्युब, एसएमएस, एटिएमलगायत सामाजिक सञ्जालमार्फत साइबर अपराधका घटना बढेका छन् ।
चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा ४२ वटा यस्ता घटना घटेका छन्, जसमा एटिएम ह्याकिङका घटना पनि छन् । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रविधिको विकाससँगसँगै यस्ता घटना बढेको बताउनुहुन्छ ।
‘मानिसहरू छिट्टै, फास्ट ट्र्याकबाट पैसा कमाउन खोज्छन्,’ उहाँ भन्नुहुन्छ, ‘यही क्रममा प्रविधिको दुरूपयोग गर्ने गर्दछन् ।’
प्रवक्ता कुँवर बैंक तथा वित्तीय संस्थाका पूर्वाधारमा उचित सुरक्षा सतर्कता अपनाउनुपर्ने बताउनुहुन्छ । अर्कोतर्फ प्रयोगकर्ताले पनि सावधानी अपनाउनुपर्ने सुझाब उहाँको छ ।
नियामक निकायको प्रयास ...





