तत्कालीन जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व-महानिर्देशक (डिजी) पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंले सानेपा बस्ने ६७ वर्षीय कमलप्रसाद रेग्मीलाई पक्राउ गरेको हो।
परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार पूर्वडिजी समेत रहेका उनलाई बल्खुबाट पक्राउ गरेको हो।
उनी आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमालका श्रीमान हुन्।
एसएसपी सिंहका अनुसार सुष्माकी आमा शोभा रिमालले आफ्नी छोरी र कमलप्रसादविरूद्ध ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन्।
सुष्मा गत चैत २२ गते नै पक्राउ परेकी थिइन्। श्रीमान कमलप्रसाद भने फरार थिए।
जिल्ला अदालत काठमाडौंले सुष्मालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।





