स्टक ब्रोकर एसोसियनले मोबाइल एपसहितको कारोबार प्रणाली (टीएमएस) ल्याउने भएको छ । विभिन्न देशमा प्रयोग भइरहेको टीएमएस ल्याउनका लागि सम्झौता भई काम अघि बढिसकेको एसोसियसनले जनाएको छ ।
सेयर व्यवसायी र लगानीकर्ताहरु नियामक निकायले तोकेका सम्पूर्ण प्रावधानहरु पूरा गर्न, अन्तर्राष्ट्रिय जगतमा ब्रोकरले अँगालेका पद्धति र प्रणाली प्रयोग गर्न र आवश्यकता अनुसार पूर्वाधार वृद्धि गर्न तयार रहेको एसोसियसनले विज्ञप्ति जारी गरेर जनाएको छ ।
आधिकारिक प्रतिनिधि तथा सब–ब्रोरकको माध्यमबाट देशका हरेक क्षेत्रमा दोस्रो बजार बिस्तार गर्न र मार्जिन ट्रेडिङ, लगानी परामर्श, लगानी व्यवस्थापन र इन्ट्रा डे कारोबार जस्ता थप सेवाहरु प्रवाह गरी बजरालाई गति प्रदान गर्ने उद्देश्यले काम गरिरहेको एसोसियसनले जनाएको छ । अन्तर्राष्ट्रियस्तरको व्यावसायिक संरचना विकास गरी सोही स्तरको ब्रोकर सेवा लागानीकर्ताहरुलाई उपलब्ध गराउन ब्रोकरहरु तयार रहेका छन् । यसका लागि नियामक निकाय तथा बजार सञ्चालकको आवश्यक निर्देशन तथा सहयोगको अपेक्षा ब्रोकरहरुको छ ।





