काठमाडौं : पछिल्लो समय बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले प्रिपेड कार्डमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने बनाउन बैंकहरुलाई निर्देशन दिएसँगै बैंकहरुले धमाधम डलर कार्ड जारी गर्न थालेका हुन् । बैंकहरुले विभिन्न नाममा जारी गरेको डलर कार्डबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिन्छ । हालसम्म अनलाइनबाट सामान वा सेवा खरिद गर्दा त्यसको भुक्तानीका लागि नेपालीहरुले विदेशी कार्डको साहारा लिँदै आएका थिए ।
विदेशमा भएका आफन्त वा साथीभाईको कार्डमार्फत यस्तो रकम तिर्नुपर्दथ्यो । तर, अब डलर कार्ड जारी भएसँगै ग्राहकले आफ्नै कार्डमार्फत अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले अलिबाबा, अमेजन लगायत अनलाइन सपिङमार्फत खरिद गरिएको सामानको भुक्तानी कार्डबाट गर्न सक्ने बैंकहरुले जनाएका छन् ।





