काठमाडौँ — सरकारले सबै स्थानीय तहमा इन्टरनेट पुर्याउने परियोजनासँगै आईटी ल्याब स्थापनाको पूर्वाधार तयार पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । माघ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले हरेक सामुदायिक विद्यालयसँगै स्थानीय तहका केन्द्र, वडा कार्यालय र स्वास्थ्य केन्द्रजस्ता स्थानमा सम्बन्धित स्थानीय तहको समन्वयमा सूचना प्रविधि पूर्वाधार निर्माण गर्न प्राधिकरणलाई भनेको हो ।
अहिले प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी सबै जिल्लाका सामुदायिक विद्यालय, स्थानीय तहको कार्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रजस्ता सार्वजनिक स्थानमा इन्टरनेटको पहुँच पुर्याउने परियोजना सञ्चालन भइरहेको छ । प्राधिकरणले विभिन्न १८ वटा प्याकेज बनाएर कोषमा रकम जम्मा गर्ने सेवा प्रदायकलाई नै इन्टरनेट विस्तारको जिम्मा दिइरहेको छ ।




