प्रयोगकर्ताको बैंक खाता नचाहिने, रिचार्ज कार्ड वा कुनै माध्यमबाट मोबाइलमा ब्यालेन्स हाले पुग्ने
काठमाडौँ — मोबाइलको ब्यालेन्सबाटै सामान तथा सेवा खरिदको भुक्तानी गर्न मिल्ने गरी सञ्चालन गर्न लागिएको मोबाइल मनी सेवालाई नेपाल टेलिकमले अनुमति पाएको छ ।
यसका लागि नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक मिलेर स्थापना गरेको कम्पनीलाई राष्ट्र बैंकले मंगलबार अनुमति दिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । अनुमतिपत्र पाएको एक महिनाभित्र सेवा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
मोबाइल मनीका लागि पूर्वाधार तयार भए पनि सञ्चालन रणनीति बनाउन बाँकी रहेको अधिकारीले बताए । ‘मोबाइल ब्यालेन्समा विभिन्न शीर्षकमा करकट्टी हुने भएकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने । मोबाइल ब्यालेन्समा दूरसञ्चार सेवा शुल्क, भ्याट, मोबाइल स्वामित्व शुल्कजस्ता कर लाग्ने भएकाले मेन ब्यालेन्स र भुक्तानी गर्न सकिने ब्यालेन्सलाई फरक–फरक किसिमले राख्ने विषयमा छलफल भइरहेको अधिकारीको भनाइ छ । मोबाइलमा कल गर्न मिल्ने ब्यालेन्समा बढी कर लाग्ने हुनाले भुक्तानीका लागि प्रयोग हुने र फोन गर्न प्रयोग हुने ब्यालेन्सलाई फरक फरक गरी राख्ने तयारी रहेको जानकारी उनले दिए । ‘यसको प्राविधिक व्यवस्थापन हुन्छ,’ उनले भने ।




