काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेकाे उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।
नेपाल डिजिटल पेमेन्ट कम्पनीको रुपमा मोबाइल वालेट सञ्चालनका लागि स्वीकृती प्रदान गरिएको राष्ट्र बैंकको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताएका छन् । योसँगै उक्त कम्पनीले नेपाल टेलिकमका मोबाइल नम्बरलाई नै डिजिटल वालेटको रुपमा प्रयोग ल्याउने उल्लेख गरिएको छ ।
लामो समयदेखि आवश्यक प्रक्रिया र पूर्वाधार तयार गरी राष्ट्र बैंकबाट स्वीकृतिको पर्खाइमा रहेको कम्पनीले अब भने सेवा सञ्चान गर्न पाउने भएको छ । राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले अन्य मोबाइल वालेट कम्पनीजस्तै भुक्तानी सेवा प्रदायकको लागि अनुमति प्राप्त गरेको हो । तर, कम्पनीले नेपाल टेलिकमको सिमकार्ड नम्बरलाई नै लिंक गरेर सेवा दिनेछ । ...





