काठमाडौँ — क्यूआर कोडमार्फत दैनिक डेढ करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार माघमा मात्रै क्यूआर कोडमार्फत १ अर्ब ७१ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार यो कारोबार गत पुस महिनाको तुलनामा ४६ करोड ७० लाख रुपैयाँ बढी हो । माघमा क्यूआर कोडमार्फत भएको भुक्तानी औसतमा गणना गर्दा दैनिक डेढ करोडभन्दा बढी हुन आउँछ । माघमा क्यूआर कोडमार्फत दैनिक औसत १ करोड ५५ लाख ६६ हजार ६ सय रुपैयाँ भुक्तानी कारोबार भएको छ । पछिल्लो केही महिनायता राष्ट्र बैंककले क्यूआर कोडमार्फत हुने भुक्तानीलाई प्रोत्साहन गरिरहेको छ । केही साताअघि मात्रै राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानीका लागि मापदण्ड नै जारी गरेको थियो ।




