हिजोआज जनक शर्माको दैनिकी स्टाइल परिवर्तन भएको छ । उनी एक यस्ता व्यक्ति हुन् कि जहाँ, जता जाँदा पनि प्रायः पैसा साथमा बोक्न रुचाउँदैनन्, बोक्नै परेमा अलिअलि मात्र बोक्छन् । नेपालमा दुई–तीन वर्ष अघिबाट विकास भएका प्रविधिले उनको ध्यान खिचेको छ । उनी हरेक कार्य गर्नका लागि स्मार्ट बैंकिङको प्रयोग गर्न रुचाउँछन् । उनी भन्छन्, “म सधैं स्मार्ट बैंकिङ नै प्रयोग गर्छु, जसले मेरो पैसाको समेत बचत गरेन, सहयोगसमेत पु¥याएको छ ।”
नगद बोकेर हिँड्दा हराउन सक्छ, चोरी हुन सक्छ अनि बढी फजुल खर्चसमेत हुन्छ । तर, स्मार्ट बैंकिङ प्रयोग गर्दा फजुल खर्च हुँदैन । त्यसैले फजुल खर्च नहुनु भनेको पनि एक किसिमको बचत नै हुने उनी बताउँछन् ।
जनक शर्मा डिजिटल भुक्तानी उपभोग गर्ने एक प्रतिनिधि पात्र मात्र हुन् । आजभोलि जनक शर्माजस्ता हजारौं मानिसले स्मार्ट बैंकिङ सेवा प्रयोग गर्न बढी रुचाउन थालेका छन् । आज पानी, बत्ती, रिचार्ज, तरकारी पसलदेखि खाद्यान्न पसल, रेस्टुराँदेखि अधिकांश सपिङ मलसम्म स्मार्ट बैंकिङ सेवा सञ्चालन भइसकेका छन्, जसको आवश्यकता दिनानुदिन बढ्दै गइरहेको छ ।





