बैंकिङ कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाको प्रविधिमैत्री सेवा, विद्युतीय कारोबारप्रति सर्वसाधारणको आकर्षण र राष्ट्र बैंकको नीतिगत व्यवस्थाका कारण कारोबार बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असारको तुलनामा पुसमा विद्युतीय माध्यमबाट हुने कारोबार करिब ३२ प्रतिशतले वृद्धि भएको छ । २०७७ असारमा विभिन्न विद्युतीय माध्यमबाट २ करोड ९० लाख कारोबार भएकोमा २०७७ पुसमा ३ करोड ८१ लाख वटा कारोबार भएको छ । यसैगरी विद्युतीय प्रणालीमार्फत असारमा २७ खर्ब ६५ अर्ब रुपैयाँ कारोबार भएकोमा पुसमा २९ खर्ब ६९ अर्ब कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई घटाउँदै विद्युतीय माध्यमबाट कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । कोभिड—१९ को महामारीले कारण पनि विद्युतीय कारोबारप्रति सर्वसाधारण उपभोक्तासमेत आकर्षित भएका छन् ।
राष्ट्र बैंकले चेकमार्फत १० लाख रुपैयाँसम्म नगद झिक्न सक्ने व्यवस्था गरेको छ । यसैगरी संस्थागत कारोबार अनिवार्य रूपमा चेकमार्फत नै गर्नुपर्ने व्यवस्था छ । यसबाहेक २ लाखभन्दा बढीको कारोबार रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मार्फत गर्नुपर्ने प्रावधान छ ।





