काठमाडौं : इटहरीका केशव (नाम परिर्वतन) ले विगत लामो समयदेखि सेयर बजारलाई नजिकबाट निहाल्दै आएका छन् । प्राथमिक र दोस्रो बजारमा पनि उनी सक्रिय छन् । गत वैशाखमाा उनको विवाह भयो । विवाहअघि आफ्नो घरपरिवारको नाममा आइपीओ भर्दै आएका उनले विवाहपछि ससुरालीका आफन्तको पनि नगरिकताको फोटोकपी र फोटो ल्याएर बैंक खाता, डिम्याट खाता र ब्रोकर आइडी खोलेर आइपीओ भर्न थालेका छन् ।
पछिल्लो समय खोलेको सबै आइपीओमा करिब ४० जनाको नामबाट आवेदन दिँदै आएको उनी बताउँछन् । तर, यो कुरा उनका कतिपय आफन्तलाई जानकारी छैन । त्यस्तै, गोरखाकी सुनिता (नाम परिवर्तन) ले पनि आफ्नो आफन्तको नाममा सेयर भर्दै आएकी छिन् । उनले महिलाको नाममा बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न जाँदा आफैं हो भन्दै जान्छिन् भने पुरुषको खाता खोल्न भाईलाई पठाउने गरेकी छिन् ।
उनले पनि करिब १५ जनाको नामबाट आइपीओ भर्ने गरेकी छिन् । यी त प्रतिनिधि उदाहरण मात्रै हो । पछिल्लो समय अर्काको नामबाट सेयर भर्ने क्रम बढ्दो रहेको छ । विगतमा पनि यसरी अर्काको नाममा सेयर भर्नेलाई बोरे प्रणाली भनिन्थ्यो । तर डिम्याटको चलन सुरु भएसँगै बोरे प्रथा हट्ने अपेक्षा गरिएको थियो । तर व्यवहारमा यो कायमै रह्यो ।





