काठमाडौं : धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नका लागि तयारी गरेको छ । जस अनुसार यसका लागि संस्थागत लगानीकर्ता पनि छनोट गरिएको छ । बोर्डका अनुसार बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने प्रयोजनका लागि ४६ वटा संस्थागत लगानीकर्ताको सूची तयार पारेको छ । बोर्डले केही समयअघि इच्छुक संस्थागत लगानीकर्ताहरूसँग आवेदन माग गरेको थियो ।
उक्त समयमा ६२ वटा संस्थाहरुले निवेदन दिएका थिए । निवेदन दिनेमध्ये वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा अन्य आवश्यक विवरण पेश गरेका ४६ संगठित संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न बोर्डले स्वीकति प्रदान गरेको हो ।
यही बेला सर्वसाधारणमा जिज्ञासा छ के हो बुक बिल्डिङ ?
बुक बिल्डिङ प्रणाली नेपालका लागि नयाँ अभ्यास हो । यसअघि प्रिमियमबाट आइपीओ जारी गरिने गरेको भए पनि बुक बिल्डिङ भने चलनमा थिएन । अब यो अन्तर्राष्ट्रिय अभ्यासको पनि यहाँ सुरु हुँदैछ । बुक बिल्डिङ भनेको सामान्य हिसाबमा बुझ्दा प्रतिस्पर्धात्मक माध्यमबाट मूल्य निर्धारण गरेर कुनै कम्पनीले आइपीओ जारी गर्ने प्रक्रिया हो ।








