एक सफल उद्यमी बन्ने चाहना सबैलाई हुन्छ । उद्यमशीलताको विकास भएको देश अन्य मुलुकको तुलनामा चाँडै समृद्ध भएको विभिन्न अध्यनले देखाएका छन् । अमेरिका, जापानजस्ता मुलुक समृद्ध बन्नुमा त्यहाँ भएको उद्यमशीलताको विकास प्रमुख कारण मानिन्छ । नेपालको उद्यमशीलता भने सुरुवाती अवस्थामै छ । एकथरी मानिस धेरैपटक आफू उद्यमी बन्ने सपना त देख्छन् । तर, रोजगारी पाएपछि उद्यमी बन्ने सपना त्याग्दै जान्छन् । किनकि, उद्यमी बन्नु एकप्रकारले जोखीमयुक्त काममा आफूलाई संलग्न गराउनु हो । त्योभन्दा रोजगार मात्र हुनुमा जीवन सहज हुन्छ । समाजमा अर्काथरी मानिस पनि छन्, जो चाँडै आफूले मन पराएको काम सुरू गर्ने निष्कर्शमा पुग्छन् । जीवनको उद्देश्यलाई कामसँग जोड्छन् र काम÷व्यवसायको शुरुआत गर्छन् । उद्यमशीलता कसरी विकास गर्ने त ?
अडान लिनुहोस्
तपाईं जुन हालत (काम वा अवस्था)मा हुनुहुन्छ, त्यसमा सन्तुष्ट हुनुहुन्न भने त्यसलाई निवारण गर्ने तपाईंबाहेक अरू कोही हुनै सक्दैन । अर्थव्यवस्था, कम्पनीको मालिक, श्रीमान्रश्रीमती अथवा परिवारलाई आरोप वा दोष दिएर कुनै फाइदा छैन । जीवनमा परिवर्तन त तब आउँछ, जब तपाईं सचेत निर्णय गर्नतिर लाग्नुहुन्छ ।
आफ्ना लागि उपयुक्त व्यवसाय पहिचान गर्नुहोस्
आफ्ना लागि उचित व्यवसाय कुन हो, त्यसको खोजी गर्नुहोस् । आफ्नै व्यक्तित्वका पनि विभिन्न पक्ष (जस्तै– तपाईंको व्यक्तित्व, उमेर, सामाजिक शैली) केलाउने प्रयास गर्नुहोस् । आफ्नो अन्तरज्ञान (हृदय)लाई सुन्नुहोस् । हामी मनमा आउने विचारलाई खासै महत्त्व दिँदैनौं । तर, यो राम्रो होइन । आफ्नो रुचिको काम छनोट गर्न आफैलाई प्रश्न गर्नुहोस्, ‘म थकित हुँदा समेत कुन काम/व्यवसायले मलाई ऊर्जा दिन्छ वा गरूँगरूँ लाग्छ ?’ हो, त्यही काम वा व्यवसायमा तपाईंले सफलता पाउने सम्भावना बढी हुन्छ ।
अनुभव वा ज्ञान भएको व्यवसाय रोज्नुहोस् ...








