नगद कारोबार निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकको यस वर्षको प्राथमिकता क्यूआर कोडमा आधारित सेवा
काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा क्विक रेस्पोन्स (क्यूआर) कोडमा आधारित कारोबार करिब ९० प्रतिशत बढेको छ । खासगरी साना र खुद्रा भुक्तानीका लागि सहज मानिने क्यूआर कोडमार्फतको कारोबार पछिल्लो समय उल्लेख्य बढेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैंकले यो वर्ष क्यूआर कोडमा आधारित कारोबारलाई पहिलो प्राथमिकतामा राखेको छ ।
ठूला कारोबारका लागि आरटीजीएस, आईपीएस कनेक्टलगायत प्रणाली उपलब्ध छन् । तर ती प्रणालीबाट साना तथा खुद्रा कारोबार गर्न सकिन्न । यसकारण साना तथा खुद्रा कारोबारालाई समेट्न क्यूआर कोड प्रयोगमा ल्याइएको राष्ट्र बैंकका भुक्तानी विभाग प्रमुख भुवन कँडेलले बताए । ‘यो साना तथा खुद्रा कारोबार लक्षित प्रणाली हो, छिटो, सजिलो र सुलभ पनि छ,’ उनले भने, ‘यो कारोबारमा एटीएम र पोओएस कारोबारमा जस्तो सिस्टम प्रदायकलाई शुल्क तिर्नु पनि पर्दैन । यसकारण पैसा विदेश जाँदैन, स्वदेशमै रहन्छ ।’




