नयाँ टिएमएसमा कारोबार गर्ने लगानीकर्ताको सपना बोर्डले तुहाइ दिएको छ। नयाँ टिएमएस दिनलाई तयार गरेको पूर्व तयारीमा बोर्डले अङ्कुश लगाएपछि नयाँ टिएमएस तत्काल आउने सम्भावना तुहिएको हो।
लगानीकर्ताले अहिले संञ्चालन रहेको टिएमएसले भरपर्दो काम नगरेको गुनासो गरिरहेका छन्। उनीहरूले टिएमएसले काम नगरेको भन्दै यथासक्य चाँडो नयाँ टिएमएस चलाउनु पाउनु पर्ने माग गरिरहेका छन्। पछिल्लो समय १८ बुँदे माग राख्दै नेप्से परिसरमा आमरण अनसनमा बसेका लगानीकर्ताले समेत उक्त माग अघि सारेका थिए।"कामै नगर्ने टिएमएस तत्काल हटाउनु पर्छ। लगानीकर्ताले नयाँ भरपर्दो टिएमएसमा काम गर्न पाउनु पर्छ"आमरण अनसनमा बसी हिजाे बुधबारमात्र ताेडेका तिलक कोइरालाले मेरो लगानीसँग भने।
यस अघि लगातार समस्या देखि रहने टिएमएसमा माघ २८ गते बुधबार मात्रै करिब एक घण्टा अवरोध देखिएको थियो।
तर नियामक निकायले भने उनीहरूका माग सम्बोधन गर्नु भन्दा पनि उनीहरूको मागलाई सम्बोधन गर्ने गरी अघि बढेको प्रक्रियालाई समेत अङ्कुश लगाइ दिएको छ। बेला बेलामा टिएमएसमा आउने समस्यालाई समाधान गर्न भन्दै नेप्सेले ब्रोकर कम्पनीहरूलाई आफू खुसी टिएमएस ल्याउन दिने गरी एपिआइ पोलिसि निर्माण गरेको थियो।तर बोर्डले उक्त पोलिसि आफूलाई नसोधी किन कार्यान्वयनमा लगेको भन्दै उल्टै नेप्सेसँग स्पष्टीकरण मागेपछि नयाँ टिएमएस ल्याउने विषय तुहिएको हो।
नेप्सेले गत पुस १२ गते तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि बनाई आफ्नो वेभ साइट मार्फत सार्वजनिक गरेको थियो। जसमा व्यक्ति तथा संस्थाले नेप्सेको तथ्याँङक प्रयोग गरे बापत निश्चित शुल्क निर्धारण गरिएको थियो। सोही शुल्क बोर्डलाई नसोधी निर्धारण गरिएको भन्दै बोर्डले स्पष्टीकरण माग गरेको थियो। उक्त स्पष्टीकरण मागेपछि नेप्सेले बोर्डलाई शुल्क वा आवश्यक काम गर्न भन्दै उक्त कार्यविधि पठाइ दिएको छ। नेप्सेले बोर्डलाई मात्रै उक्त कार्यविधि पठाएन उसले प्रकाशित र कार्यान्वयनमा लगिसकेको कार्यबिधिलाई नै रोकेको छ। लागु भइसकेको कार्यविधि नै वेबसाइटबाट समेत हटाइसकेको छ। कार्यान्वयनमा गइसकेको काम एकाएक वेभ साइटबाट हटाइएपछि पूँजी बजारसँग सम्बन्धित निकायको काम गर्ने क्षमतामा नै प्रश्न खडा भएको छ। उक्त कार्यविधि अनुसार नयाँ टिएमएस ल्याउन ठिक परेका ब्रोकरको योजना समेत तुहिएको छ।





