सुधा देवकोटा
पछिल्लो समय शेयर कारोबारमा हुने राफसाफ सम्बन्धि गुनासाहरु बढ्न थालेका छन्। लगानीकर्ताले शेयर कारोबार गरे बापतको भुक्तानी समयमा नभएको गुनासो सामाजिक सञ्जालदेखी यत्रतत्र सुन्न देख्न थालिएको छ।
विषेशगरी शेयर बिक्री गरे बापतको रकम समयमा बैंक खातामा ब्रोकरले पठाउने नगरेको लगानीकर्ताहरुको गुनासो रहेको छ। शेयर कारोबार राफसाफमा ‘टि प्लस टु’ लागु गरिएको भनिएतापनि समयमा ब्रोकरबाट रकम भुक्तानी नभएको लगानीकर्ताहरुको गुनासो गर्न थालेका हुन्।
पैसाको अत्यावश्क भएर बिक्री गरेको शेयरको भुक्तानी समयमा नपाउदा आफूहरु मर्कामा पर्ने गरेको लगानीकर्ताहरुको भनाई छ। रकम भुक्तानी पाउन ब्रोकर कार्यालयमा फोन गर्दा समेत उक्त समस्याको उचित समाधान हुन नसकेको लगानीकर्ताहरु बताउँछन्। शेयर बिक्री गरेको हप्ता दिनसम्म पनि आफूहरुले रकम प्राप्त नगरेको लगानीकर्ताहरुले बताउदै आएका छन्।
यस्तो अवस्थामा हालसालै बजारमा प्रवेश गरेका नयाँ र साना लगानीकर्ताहरुले मारमा परेका छन्। ब्रोकरहरुले ठूलो कारोबार र नियमित कारोबार गर्दै आएका लगानीकर्तालाई प्रथामिकता दिँदा नव प्रवेशी र साना लगानीकर्ताको समस्यामा पर्ने गरेकोे उनीहरुको भनाई छ।
पछिल्लो समय प्रथामिक बजार हुँदै दोस्रो बजारमा भित्रीने लगानीकर्ताको संख्यामा वृद्धि भएको छ। त्यससँगै नेप्से सूचकमा समेत उच्च अकंको वृद्धि भएको सरोकारवालाहरु बताउछन्।
आईपीओको अधिक वर्षा र शेयर बजार प्रति आम नागरिकको आकर्षण बढेको समयमा शेयर खरिद बिक्री गर्ने लगानीकर्ताहरुको चापमा उल्लेख्य वृद्धि भएको हुँदा, शेयर कारोबार भए बापतको रकम भुक्तानीमा समस्या देखिएको सुन्धारा सेक्यूरिटिजका प्रवन्ध निर्देशक फडिन्द्र ढकाल बताउछन्।
यस अवधिमा सम्पूर्ण भुक्तानी अनलाईनमार्फत गर्न सबै सरोकारवालहरुको जोड छ। अनलाईन माध्यमबाट नै कारोबार राफसाफ गर्दा समग्र बजारको लागि सकारात्मक भएको ढकाल बताउछन्। तथापि लगानीकर्ताले भने जस्तै ‘टि प्लस टु’ मा भुक्तानी नहुनुमा निर्देशक ढकाल उदाहरण दिदै बताउछन्, ‘उदाहरणको लागि कुनै लगानीकर्ताहरुले आईतबार बिक्री गरेको शेयरको भुक्तानी मंगलबार मात्र हुने र मंगलबार भुक्तानी भएको रकम बुधबार १० बजे मात्र ब्रोकरको पुल खातामा (टिएमएसमा) देखाउने हुँदा शेयर आईतबार बिक्री गरेको शेयरको भुक्तानी बुधबार हुने गरेकोले लगानीकर्ताले भनेजस्तै ‘टि प्लस टु’ मा भुक्तानी नभएको उनले प्रष्ट्याए।
अहिले सम्पूर्ण भुक्तानी अनलाईनमार्फत हुँदा कनेक्ट आईपिएसमा अत्याधिक लोड आएका कारण पनि रकम भुक्तानीमा समस्या भईरहेको उनको भनाई छ।
तर यता भुक्तानी प्रदायक संस्था नेपाल क्लियरिङ हाउस (एनसिएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेश मानसिंह प्रधानले कनेक्ट आईपिएसको सिस्टममा धितोपत्र दलालहरुले भने जस्तो समस्या अहिलेसम्म नदेखिएको दाबी गरे।





