कोभिड १९ ले विगतको शैली तथा दैनिकीमाथि मात्र नभई भुक्तानीको शैलीमा समेत ठुलो परिवर्तन ल्याएको छ। जसकारण विकसित देशहरुमा मात्र नभई नेपाल लगायतका विकासोन्मुख मुलुकहरुमा समेत नगद तथा कार्डरहित डिजिटल भुक्तानी प्रणालीका नयाँ उपायहरु खोजिन थालेका छन्।
नगदरहित भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नलाई नेपाल राष्ट्र बैंकले पछिल्लो समय क्युआर कोडलाई प्राथमिकतामा राखेर यसको प्रचार प्रसार तथा प्रवर्द्धन गरिरहेको बेला कतारमा भने 'एडभान्स' प्रकृतिको भुक्तानी प्रणालीको सुरुवात भएको छ।
कतारको सबैभन्दा ठुलो वित्तीय संस्था कमर्शियल बैंक र दुखान बैंकले भुक्तानीको लागि सुरक्षित र प्रभावकारी मानिएको हातमा लगाइने ब्रासलेट, स्मार्टघडी लगायतका बिभिन्न उपकरण मार्फत भुक्तानी गर्न मिल्ने प्रणालीलाई आत्मसाथ गरेका छन्।
कोभिड १९ लाई मध्यनजर गरि यी दुवै बैंकले भौतिक सम्पर्क रहित भुक्तानी प्रणालीको सुरुवात गरेका हुन्। दुवै बैंकले हातमा लगाइने स्मार्ट घडी तथा फिटनेश ट्रयाकर मार्फत भुक्तानी गर्न मिल्ने डिजिटल भुक्तानी प्रणालीको सुरुवात गरेका हुन्। ...




