नेपालमा साढे २ करोड जनसंख्याको पहुँचमा इन्टरनेट पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांक अुनसार नेपालमा २ करोड ४३ लाख ४७ हजार १४७ जनाको पहुँचमा इन्टरनेट पुगेको हो ।
कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ४ लाख २४ हजार २ सय ४६ जना प्रयोगकर्ता थपिएका छन् । कात्तिकमा कुल २ करोड ३९ लाख २१ हजार १ सय ८० जनाको पहुँचमा इन्टरनेट रहेको थियो ।
कुल जनसंख्यामध्ये ८१.४९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुगेको छ । प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ लाई आधार बनाएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । मंसिर महिनासम्म मोबाइल इन्टरनेटको हिस्सा ५९.६७ प्रतिशत छ । तथ्यांक अुनसार १ करोड १० लाख ६९ हजार ३६० जनाको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । जसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८४ लाख ७० हजार र २५ लाख ९९ हजार रहेका छन् । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख २२ हजार ३ सय १६ र ईभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् ।




