पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो । उक्त प्रविधिको प्रयोग गरी गत महिनाको तुलनामा पुस महिनामा मात्र १५ अर्ब बढीको कारोबार भएको छ ।
उक्त प्रविधिको प्रयोग गरी मंसिर महिनामा १ खर्ब ३८ अर्ब बराबरको कारोबार भएकोमा पुस महिनामा एक खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएको छ ।




