नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए । गभर्नर अधिकारीको जन्म विसं. २०२० सालमा खोटाङको सिमपानीमा भएको हो । औपचारिक शिक्षा खोटाङमै सकेर उच्च शिक्षाका लागि उनी काठमाडौं छिरे । वि.सं. २०४२ सालमा अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट २०४६ सालमा व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने भारतको मद्रासबाट चार्टर्ड एकाउन्ट अध्ययन पूरा गरी फर्किएपछि वि.सं. २०५१ सालमा राष्ट्र बैंकको उप निर्देशक भए । त्यसपछि २०५६ मा निर्देशक पदमा बढुवा भए भने २०६५ सालमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसपछि २०६७ सालमा डेपुटी गभर्नर पदमा नियुक्त भए । २०७३ सालमा राष्ट्र बैंकबाट बाहिरिएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका अधिकारी पुनः राष्ट्र बैकमै गभर्नर बनेर फर्किए ।
२०७६ चैत्र २४ गते नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भए । हालसम्मको १० महिने अवधिमा उनको कार्यकालमा अर्थतन्त्रमा एकैपटक ठूलो उतारचढाव आयो । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण नेपालको अर्थतन्त्र अनपेक्षित रूपमा प्रभावित भएर वित्तीय स्थायित्वमा चुनौती थपियो । कोरोना कहरले लामो समय सम्पूर्ण आर्थिक गतिविधि ठप्प रह्यो । यसरी कोरोना माहामारीकै बिचमा राष्ट्र बैंकमा लामो समय विताएका बैंकिङ क्षेत्रका विज्ञ महाप्रसाद अधिकारीले नयाँ गभर्नरका रुपमा नेपाल राष्ट्र बैंकको नेतृत्व संहाले । उनी गभर्नर हुँदा देश कोरोना रोकथामको लागि लडीरहेको थियो र अहिलेसम्मको मुख्य समस्या पनि कोरोनासँग जुध्नु नै हो । यद्यपी कोरोना संक्रमणको बिचमै गभर्नर बनेका अधिकारीले चुनौतीलाई नै अवसरमा बदले । भौतिक दुरी कायम राख्न पर्ने अवस्थामा बैंकहरुले सिमित कार्यालयबाट मात्र सेवा दिन थाले भने राष्ट्र बैंकले डिजिटल कारोबार गर्न प्रोत्साहित गरेको थियो । कोरोना माहामारीले पर्यटन व्यवसाय, होटल व्यावसाय, औद्योगिक क्षेत्रमा नराम्रोसँग धक्का दियो । त्यस बखत उनले अर्थतन्त्रमा देखिएको संकटको सामना गर्नको निम्ति विभिन्न नीतिगत उपाय मार्फत आर्थिक क्रियाकलाप विस्तारलाई प्रोत्साहित गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउदै थुप्रै राहत तथा प्याकेजको घोषणा गरेका थिए । त्यस बखत उनले बक्तब्य जारी गर्दै मुलुक लकडाउनको अवस्थामा रहँदा असर परेका क्षेत्रमा प्रवाहित कर्जामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने आवश्यक व्यवस्था मिलाएका थिए साथै, कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्था गरे । यस्तै, साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न निर्देशन दिएका थिए । ...





