नेपालमा फाइभजी विस्तारका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण भएको छ । राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो ।
फोरमले अन्तराष्ट्रिय अभ्यासलाई अनुशरण गरेर न्यूनतम, अधिकतम तथा उच्च फ्रिक्वेन्सी ब्यान्डमा फाइभजीका लागि फ्रिक्वेन्सी दिन सकिने प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनका आधारमा प्राधिकरण बोर्ड बैठकले फाइभजीका लागि फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको प्राधिकरण स्रोतले जनाएको छ ।
उक्त फोरमले ७ सय, ९ सय, २३ सय र २६ सय मेगाहर्ज ब्यान्डलाई तल्लो ब्यान्डअन्तर्गत, ३३ सय, ३४ सय, ३६ सय र ४७ सय मेगाहर्जलाई मध्यम र २६ गिगाहर्ज ब्यान्डलाई उच्च ब्यान्डको सूचीमा राखेर प्राधिकरणमा सिफारिस गरेको थियो ।




