गत आर्थिक वर्षमा कन्काई र कैलाश विकास बैंकलाई गाभेको प्राइम कमर्शियल बैंक (PCBL) ले मर्जर पश्चात राम्रो प्रगति देखाउन थालेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ८१ करोड खुद नाफा कमाएर धेरै नाफा कमाउने वाणिज्य बैंकको चौथो स्थानमा आइपुगेको छ।
कोभिडको असरका कारण अधिकांश बैंकहरुको आम्दानीमा असर परेको छ भने उनीहरुको नाफा घटेको छ तर, प्राइम कमर्शियल बैंकले कोरोना माहामारीकै विचमा पनि आफ्नो व्यवसाय विस्तार गर्दै राम्रो नाफा कमाउन सफल भएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासदेखि चौथो त्रैमाससम्म पनि धेरै नाफा कमाउने बैंकको दशौं स्थानमा रहेको बैंक चालु आर्थिक वर्षकाे ६ महिनासम्ममा गरेको राम्रो प्रदर्शनले चाैथाे स्थानमा उक्लन सफल भएको छ। बैंक प्रतिशेयर आम्दानीको हिसाबले भने चाैथाे स्थानमा रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५१ करोड २५ लाख रुपैयाँ अर्थात ३९.४० प्रतिशतले खुद नाफा बढाएको छ। ६ महिनामा नै बैंकको वितरण योग्य मुनाफा १ अर्ब २६ करोड ४२ लाख रुपैयाँ रहेको छ।
बैंकको व्यवसा पनि बढ्दै गएको छ। पछिल्लाे ६ महिनामा बैंकले निक्षेप संकलन ६३ प्रतिशतले बढाएको छ भने कर्जा लगानी पनि ४७ प्रतिशतले बढाएको छ। पछिल्लो तीन महिनामा नै बैंकले निक्षेप संकलन ६ अर्ब ४८ करोड रुपैयाँले बढाएको छ भने कर्जा लगानी पनि ५ अर्ब ८२ करोड रुपैयाँले बढाएको छ। यसले पछिल्लो समय बैंक व्यवसाय विस्तारमा पनि आक्रामक भएकाे देखाउँछ।
अन्य केहि बैंकहरुले कर्जा लगानी बढाउन नसकेको बरु पुराना कर्जा असुली हुँदा कर्जा लगानी घट्दै गएको अवस्थामा प्राइम कमर्शियल बैंकको कर्जा लगानी भने सन्तोषजनक नै रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण दास मानन्धर बताउछन्। जसको कारण बैंकको सिसिडि रेशियो पनि ८० प्रतिशतभन्दा माथि छ।
बैंकको सिसिडि रेशियो ८१.३७ प्रतिशत छ। केन्द्रिय बैंकले सिसिडि रेशियो ८५ प्रतिशतसम्म जान पाउने व्यवस्था गरेकोमा बैंकको सिसिडि रेशियो ताेकिएकाे भन्दा केहि प्रतिशत विन्दु मात्रै कम छ। यसले बैंकले राम्रो कर्जा परिचालन गरेको देखाउँछ। बैंकले निक्षेपलाई कर्जाको रुपमा परिचालन गर्न सफल हुँदा नाफा बढ्न सहयोग पुगेको छ।








