काठमाडौं । प्रविधिको प्रयोग बढ्दै जाँदा चुनौती पनि नयाँ नयाँ स्वरुपमा देखिन थालेका छन् । प्रविधिको प्रयोग गर्ने विषयमा पर्याप्त सचेतना अभाव र लापरबाहीले जोखिम बढ्न थालेको हो ।
काठमाडौं धापासी बस्ने बाबुराम बोहोराको मोबाइलमा गएको सोमबार मेगा बैंकबाट अर्को व्यक्तिको नाममा रहेको बैंक अकाउन्टबाट एउटा नम्बर आयो । विगत चार वर्षदेख प्रयोग गर्दै आएको मोबाइल नम्बरमा बैंकको सामान्य प्राविधिक त्रुटि हुनसक्ने ठानेर उनले केही समयमै उक्त समस्या समाधान हुने अपेक्षा गरेका थिए ।
त्यसैले उनले खासै चाँसो दिएनन् । तर बुधबार सोही नम्बरमा मेगा बैंकबाट बोहोराले अर्को एसएमएस पाए ।
जसमा अर्को व्यक्तिको अकाउन्टमा केही पैसा (तलब) डिपोजिट भएको नोटिफिकेसन थियो । त्यस लगत्तै उनले परीक्षणका लागि मेगा बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरे ।
त्यसलाई इन्स्टल गरेर आफ्नो मोबाइल नम्बर राखेपछि ६ अंकको भेरिफिकेसन कोड पनि उनकै फोन नम्बरमा आयो । ‘मैले कोड राखेर ट्रान्जेक्सन पिन सबै सेट गरेँ । फिङ्गरप्रिन्ट पनि राखेँ । मोबाइल एप्लिकेसन मेरै हातमा भएपछि त मैले जे गरे पनि हुन्थ्यो । अकाउन्ट होल्डरलाई कुनै नोटिफिकेसन नजाने भएपछि मैले जे पनि गर्न सक्थेँ,’ बाबुराम भन्छन् । ...





