अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यकासाथ तयार गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनका लागि तयार भएको छ ।
अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट प्रस्तुत गर्न सक्ने डिजिटल सेवा केन्द्र आगामी मंगलबारबाट सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी सकिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।
उक्त प्रणाली सञ्चालनमा आएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार कागज छोडेर डिजिटल युगमा प्रवेश हुने परियोजना कार्यान्वयन इकाइ प्रमुख एवं भन्सार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनपछि कागज पत्र र सेवाग्राही स्वयम् उपस्थित भई गरिने अन्तर्राष्ट्रिय व्यापार र पारवहनका सबै कामहरु कम्प्युटर प्रणालीबाट हुने भण्डारीको भनाइ छ ।
भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागज र भिडभाडरहित बनाउने उद्देश्यसहित सन् २०१३ अघि सारिएको अवधारणाअनुसार सन् २०१९ बाट काम थलिएको र अहिले पहिलो चरणको कार्यान्वयनमा पुगिएको आयोजनाले जनाएको छ ।
‘कागज बोकेर विभिन्न कार्यालयको झ्याल-झ्यालमा पुगेर कर्मचारीलाई नमस्कार गरेर काम गराउने कामका लागि कार्यालय पुग्नुपर्ने सेवाग्राहीको समस्या अन्त्य गर्न उक्त सेवा विकास गरिएको हो,’ परियोजना कार्यान्वनय इकाइ प्रमुख भण्डारीले भने ।
अन्तर्राष्ट्रिय व्यापारमा लाइसेन्स, प्रमिट तथा अन्य सर्टिफिकेटको धेरै माग हुने तीन वटा निकायहरु पशुसेवा विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमार्फत पहलो चरणमा एकद्वार प्रणाली कार्यान्वयनमा आउने आयोजनाले जनाएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने छन् ।





