काठमाडौं : नेपालमा सेयर बजारप्रति आम सर्वसाधारणको क्रेज निकै बढ्दो छ । प्राथमिक र दोस्रो बजार दुवैमा रेकर्ड ब्रेकहरु भइरहेका छन् । प्राथमिक बजार (आइपीओ) मा आवेदन दिने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आवेदन दिनेको संख्या हालसम्मकै उच्च भएको छ । जतिजति आइपीओ आउँदै जन्छ उति नै आवेदकको संख्याले रेकर्ड ब्रेक गर्दै गएको छ ।
यसअघि चन्द्रागिरी हिल्सको आइपीओमा परेको आवेदनले रेकर्ड ब्रेक गरेको थियो । तर त्यसको एक सातापछि नै नयाँ रकर्ड बन्दा सेयर बजारमा लगानीकर्ताको उत्साह कतिसम्म छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । साथै, डिम्याट खाता खोल्ने क्रम पनि दैनिक हजारौंको संख्यामा बढिरहेको छ । यता, दोस्रो बजार पनि हाल उच्च विन्दुमा रहेको छ । दिनहुँ सेयर बजारले नयाँ उच्च विन्दु कायम गर्दै गएको छ ।
तर अझै पनि धेरैलाई सेयर बजार सम्बन्धी सामान्य ज्ञानको समेत कमि रहेको देखिन्छ । कतिपयलाई त सेयर के हो ? कसरी कारोबार हुन्छ ? भन्ने लगायतका सामान्य ज्ञानको समेत कमि छ । यही क्रममा बजारका अत्यन्तै नयाँ र सामान्य विषयमा समेत जानकारी नभएका सर्वसाधारण लगानीकर्तालाई सहज होस् भनेर यहाँ सेयर र सेयर अर्थात बजार के हो भनेर सामान्य चर्चा गरिएको छ ।
सेयर बजार के हो ?
सामान्य अर्थमा भन्नुपर्दा, सेयर बजार त्यस्तो ठाउँ हो, जहाँ पब्लिक कम्पनीहरुको सेयर जारी हुन्छ अनि किनबेच हुन्छ । तर सेयर बजार भन्दा अघि सेयर के हो भनेर बुझ्न जरुरी छ । जस्तो, कुनै पनि व्यापार सुरु गर्न हामीलाई पुँजी वा भनौं पैसाको आवश्यकता पर्छ । तर आवश्यक सबै पुँजी हामीसँग नहुन सक्छ । त्यसैले, ठूलो पुँजी जम्मा गर्न सेयर संख्या वा कित्ताका आधारमा विभाजन गरी सानो सानो इकाईमा परिणत गरिन्छ ।
जसलाई हामी सेयर भन्छौं । उक्त सेयरलाई बिक्री गरी व्यापारका लागि आवश्यक पुँजी जम्मा गरिन्छ । त्यसैले सेयर भनेको कुनै पनि कम्पनी वा वित्तीय सम्पतिमा आफ्नो स्वामित्वको इकाई हो भनेर बुझ्नुपर्छ । जस्तो कि मेरो फलानो कम्पनीमा सेयर छ भन्नुको अर्थ हुन्छ, उक्त कम्पनीको केही हिस्सामा मेरो पनि स्वामित्व छ भनिएको हो ।
उदाहरणका लागि, कुनै व्यावसायीले १ करोड रुपैयाँ लगानी गरी एक कम्पनी स्थापना गरेको छ । र, उसलाई आफ्नो व्यापार विस्तार गर्न थप ८० लाख रुपैयाँ लगानी आवश्यक परेको छ । तर ऊ आफैंसँग भने लगानी विस्तार गर्ने थप पैसा छैन । तब उसले लगानीका लागि आवश्यक थप ८० लाख रुपैयाँ सर्वसाधारणबाट उठाउने निधो गर्छ । अनि, फेस भ्यालु सामान्यतयः प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेर ८० हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री गरी ८० लाख रुपैयाँ जुटाउँछ ।
फेस भ्यालु भनेको प्रतिकित्ता सेयरको मूल्य हो जुन सेयर जारी गर्नु अघि नै निर्धारण गरिन्छ । नेपालमा यो सामान्यतयः प्रतिकित्ता १०० रुपैयाँ हुने गरेको छ । यहाँ जसजसले उक्त कम्पनीको सेयर किनेका छन् उनीहरु त्यस कम्पनीको सेयरधनीहरु बन्दछन् । सेयरधनी बन्नु भनेको आफू उक्त कम्पनीको हिस्सेदार बन्नु हो ।
साथै उक्त कम्पनीले नाफा गर्यो भने त्यसको पनि हिस्सेदार बन्नु हो । कम्पनीको तर्फबाट हेर्ने हो भने सेयर बेचेको मात्र नभई आफ्नो कम्पनीमा सर्वसाधारणलाई हिस्सेदारी दिएको पनि हो । अब, सर्वसाधारणलाई सेयर बेचिसकेपछि के हुन्छ त ? यसरी पब्लिकमा सेयर जारी गरेको कम्पनी स्टक एक्सचेन्जमा गएर सूचीकृत हुन्छ र त्यसको सेयर किनबेचका लागि दोस्रो बजार खुला गरिन्छ ।
स्टक मार्केट र स्टक एक्सचेन्ज
....








