नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्तीय संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराउँदै आइरहेका छन् ।
विपन्न वर्गमा लक्षित
लघुवित्त वित्तीय संस्थाको सेवा गरिब तथा विपन्न वर्गमा लक्षित हुन्छ । ठूलो कर्जा लिएर व्यवसाय गर्ने हैसियत नभएकाले कर्जा सलनको लागि धितो राख्ने सम्पत्ति समेत नभएका गरिब तथा विपन्न वर्गलाई ससनो कर्जा उपलब्ध गराई उद्यम सुरु गर्न र विस्तारै बढाउँदै लैजान लघुवित्तले सहयोग गर्दछ । गरिबीसँग जुधिरहेका सर्वसाधारणलाई उद्यम गरी आफैँ रोजगारदाता बन्ने उत्प्रेरणा लघुवित्तले प्रदान गर्दछ ।
विनाधितो कर्जा
कर्जा लिनको लागि धितो राख्न सम्पत्ति नभएकाहरुलाई लघुवित्तले विना धितो सामूहिक जमानीमा कर्जा दिन्छ । ग्रामीण भेगका महिलाहरुको समूह बनाएर सोही समुहलाई साक्षी राखी ससानो कर्जा प्रदान गरिन्छ । उक्त कर्जाबाट सुरु गरेको व्यवसाय विस्तार गर्नको लागि थप कर्जा पनि प्रदान गरिन्छ ।
व्यवसायिक तालिम
लघुवित्तहरुले कर्जा प्रदान मात्रै गर्दैन, उक्त कर्जाबाट सुरु गर्ने व्यवसायका लागि आवश्यक सीप पनि सिकाउँछ । यसका लागि लघुवित्तहरुले गाउँगाउँमा गएर आफ्ना सदस्यहरुलाई व्यवसायिक तालिमहरु पनि दिने गरेका छन् । पशु्पालन, तरकारीखेती, साबुन, धुप लगायतका सामान बनाउने तालिम जस्ता विभिन्न सीपमूलक प्रशिक्षणहरु दिएर उद्यमशीलताको विकास गर्ने काम लघुवित्तहरुले गर्दछन् । ...








