काठमाडौँ — अध्यक्ष बन्न नपाएपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिले धनीराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् ।
कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यले जानकारी दिए । ‘राजीनामा पत्र आएको छ,’ उनले भने, ‘अध्यक्ष बन्न नपाएपछि राजीनामा आएको देखिन्छ ।’
अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उहाँ (कोइराला) उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्यक्ष चुनिएको हो,’ स्रोतले भन्यो, ‘अध्यक्ष चयनपछिको पहिलो बैठक आइतबारलाई डााकिएको छ ।’ बैंक स्रोत पनि अध्यक्ष बन्न नपाएकै कारण राजीनामा आएको दाबी गर्छ ।







