काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सहकारी प्रविधिमा जोडिन आवश्यक भएको बताएका छन्। उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै सहअध्यक्ष पौडेलले सहकारीमार्फत विद्युतीय कारोबारमा जोड दिनुपर्ने बताए। नगद कारोबार जोखिम हुने भएकाले डिजिटल माध्यमबाट सबै सहकारीले कारोबार गर्नुपर्ने उनको भनाइ छ।
सहकारी क्षेत्रमा युगान्तकारी परिवर्तन आवश्यक भइसकेको उनको भनाइ छ। ‘अब पैसा बोकेर किनमेल गर्न जानुपर्दैन’, उनले भने,‘करिब ३ वर्षभित्रै क्यास बोक्नुपर्ने अवस्था अन्त्य हुने छ।’ हब कोपरेटिभ सर्भिसका माध्यमबाट सबै सहकारीलाई प्रविधिमा जोड्ने तयारी भइरहेको बताए।
‘हब सहकारीका माध्यमबाट प्रविधिमैत्री विद्युतीय कारोबार हुने छ’, उनले भने,‘मोबाइलबाटै पैसा पठाउन, झिक्नलगायत विभिन्न कारोबार गर्न सकिन्छ।’
हब कोअपरेटिभ सर्भिस सहकारीको पनि सहकारी भएको भन्दै सबै सहकारीले घरमै बसेर पनि प्रविधिमार्फत सम्पूर्ण सेवा दिन सक्नुपर्ने उनले बताए। बैंक तथा वित्तीय संस्थामा जस्तै सहकारीले पनि प्रविधिको प्रयोग गर्ने उनले विश्वास व्यक्त गरे।
तीन खम्बे अर्थनीतिमा सहकारी कमजोर खम्बा हुन नहुनेतर्फ अभियानले विशेष जोड दिनुपर्ने उनको भनाइ छ। सहकारी ऐन र नियमावलीले धेरै कोषको व्यवस्था गरेका कारण सहकारी बलियो हुने देखिए पनि सहकारीमा लाग्ने व्यक्तिको आकर्षण घट्न सक्नेमा उनले चिन्ता व्यक्त गरे। ‘ऐन संशोधन गर्ने क्रममा यस विषयमा व्यापक छलफल हुने छ’, उनले भने।





