राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । अध्यक्ष शर्माले बिहीबार नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको अध्यक्ष बनाउने तयारी गरेको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई बैंक सञ्चालकमा नियुक्ति गरेका थिए । सञ्चालकमा कोइरालाको नियुक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई बैंकको अध्यक्ष बनाउने प्रक्रियालाई तत्कालका लागि स्थगन गरिएको थियो । अध्यक्षमा शर्माको नियुक्ती भएसँगै सञ्चालक समिति सदस्य कोइरालाले राजीनामा दिएका छन् ।








