काठमाडौं । पछिल्लो समय मोबाइल बैंकिङ कारोबार उल्लेख्य बढेको छ । गत मंसिरदेखिको एक वर्षको अवधिमा २८ लाख १३ हजारले मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका हुन् । कोभिड–१९ को बढ्दो जोखिम, लकडाउनका कारण सहज आवतजावतमा पुगेको बाधा, बैंकहरूले विद्युतीय बैंकिङ कारोबार निःशुल्क गरेकोलगायत कारणले मोबाइल बैंकिङ प्रयोगकर्ता उल्लेख्य बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‘कोभिडको समयमा राष्ट्र बैंकले पनि विद्युतीय कारोबारलाई जोड दिएको र बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय भुक्तानी प्रणालीलाई बढी प्रोत्साहन गरेकाले मोबाइल बैकिङ प्रयोगकर्ता बढेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए ।
गत मंसिरसम्म ९० लाख ९९ हजार ७३२ रहेका मोबाइल बैकिङ प्रयोगकर्ता अहिले बढेर एक करोड १९ लाख १२ हजार ८१३ पुगेको राष्ट्र बैंकको तथ्यांक छ । लकडाउन अवधिमा मोबाइल बैंकिङ कारोबार संख्यासँगै कारोबार रकम पनि उल्लेख्य बढेको छ । गत कार्तिकसम्म ७६ लाख ४३ हजार २९६ पटक मोबाइल बैकिङ कारोबार भएर २ अर्ब ५६ करोड ५४ लाख करोबार भएको राष्ट्र बैंकको तथ्यांक छ ।





