काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले एकपछि अर्को हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित माघ १६ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले हालै धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।
यता, नारायणीले धितोपत्र बोर्डबाट अनुमति पाएको १००% हकप्रद पनि बिक्री गर्न बाँकी नै रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम जिल्लास्तरीय विकास बैंकको चुक्ता पुँजी न्यूनतम ५० करोड बनाउनुपर्ने भएकाले सोही अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ । साथै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विसिजनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।






